तेस्रो भरतपुर गोल्डकप फुटबल प्रतियोगिता चैत १ गतेबाट

तेस्रो भरतपुर गोल्डकप फुटबल प्रतियोगिता चैत १ गतेबाट : Icon Khabar

चितवन, फागुन २६ । आगामी चैत १ देखि चितवमा तेस्रो संस्करणको भरतपुर गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आगामी चैत १ देखि ११ गतेसम्म स्थानीय सिद्धार्थ माविको मैदानमा प्रतियोगिता हुन लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

भरतपुर–२४ युवा तथा खेलकुद विकास समितिका अध्यक्ष विकास लामा तामाङले राष्ट्रियस्तरको खेल खेलाउने तयारी स्वरुप प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए । युवाहरुलाई खेलकुद तथा सामाजिक काममा जोड्न यस प्रतियोगिताले मद्दत पुग्ने भन्दै अध्यक्ष तामाङले युवाहरुलाई संगठित बनाइ देश एवं युवाहरुको नैतिक, चारित्रिक, आर्थिक तथा शैक्षिक विकासमा अघि बढाउनु आफूहरुको मुख्य उद्देश्य भएको बताए ।

क्लबका सहसचिव मौसम अधिकारीले प्रतियोगितामा चितवनका ६ टिमसहित नवलपुर, तनहुँ, मकवानपुर लगायत जिल्लाबाट १० टिमको सहभागिता रहने जानकारी दिए । प्रतियोगिताको विजेताले दुई लाख ५१ हजार तथा उपविजेताले एक लाख ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । हरेक दुई÷दुई वर्षमा गोल्डकप आयोजना गर्दै आएको भन्दै अधिकारीले गोल्डकपमा सहभागी हुने फुटबल टिमको यातायात तथा खाना र बस्ने सबै व्यवस्था आयोजकले गर्ने जानकारी दिए ।

पत्रकार सम्मेलनमा भरतपुर खेलकुद विकास समितिका सदस्य एवं फुटबल समिति संयोजक दिपेन्द्र पण्डितले महानगरपालिकाको खेलकुदको विकासका लागि आफूहरुले सक्दो काम गरिरहेको बताए । खेलकुदका माध्यमबाट स्वस्थ नागरिक हुने भन्दै खेलकुदले नै खेलाडी र राष्ट्रको नाम विश्वसामु पुर्याउने भएकाले महानगरले खेलकुदमा लगानी गरेको बताए । उनले खेलकुद प्रतियोगिता सञ्चालन गर्दा राज्यबाट दिइने अनुदान तथा सहयोग रकमबाट कर कट्टी गर्न नहुने समेत बताए ।

सो पत्रकार सम्मेलनमा भरतपुर–२४ का वडाध्यक्ष राम गोदारले वडास्तरमा हुने खेलकुदका लागि सबै क्षेत्रबाट सहयोग हुन आवश्यक रहेको बताए । आफ्नो वडा विपन्न नागरिकले भरिएको क्षेत्र भएको भन्दै उनले यहाँको कृषिलाई पर्यटनसँग जोड्नका लागि खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताए ।

कार्यविधि नबन्दा स्थानीय तहबाट खेलकुदका लागि छुट्याइएको बजेटले प्रशिक्षक राखेर खेलाडीलाई प्रशिक्षण दिन नपाइएको गुनासो गरे । आगामी दिनमा कार्यविधि बनाएर कुशल खेलाडी उत्पादनका लागि काम गर्ने गोदारको भनाइ छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि १४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ । चैत १ गते सुरु हुने प्रतियोगिताको फाइनल खेल चैत ११ गते हुने भन्दै अध्यक्ष तामाङले प्रतियोगिता अवधिभर सबैको साथ र सहयोगको अपेक्षा गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 March 2023
Website | + posts