भक्तपुरमा लागूऔषधसहित दुई जना पक्राउ

भक्तपुरमा लागूऔषधसहित दुई जना पक्राउ : Icon Khabar

भक्तपुर, कात्तिक १५ । भक्तपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा कात्तिक १४ गते मध्यपुर थिमि नगरपालिका–२, दिव्यश्वरी प्लानिङ क्षेत्रमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका–९ घर भई हाल काठमाडौंको कागेश्वरी मनहरा बस्ने ३८ वर्षीय वसन्तबहादुर खत्री र दोलखाको मेलुङ गाउँपालिका–३ घर भई हाल कागेश्वरी मनहरा बस्ने २८ वर्षीय प्रतिप के.सी. रहेका छन्।

खत्रीको साथबाट ४२.८४ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र ट्रामाडोलका १० क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ। त्यस्तै, के.सी.को साथबाट १.२८ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको थियो।

पक्राउ परेका दुवै जनालाई लागूऔषध मुद्दामा कात्तिक १५ गते जिल्ला अदालत भक्तपुरबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
स्रोतः जिल्ला प्रहरी परिसर भक्तपुरको प्रेस विज्ञप्ति, कात्तिक १५ गते २०८३।

Published Date: 01 November 2026
Website | + posts