भक्तपुर, जेठ ९ । भक्तपुरको दक्षिण–पूर्वी ग्रामीण क्षेत्र छालिङस्थित ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसर आजकल झकिझकाउ बनेको छ। खरिपाटी, देकोचा, चाँगुनारायण मन्दिर तथा नगरकोटबाट पक्की सडकमार्फत सहजै पुग्न सकिने चाँगुनारायण नगरपालिका–५ गोकुलधाममा रहेको करिब ३०० वर्ष पुरानो यस मन्दिर परिसरलाई तोरण, धार्मिक सजावट तथा विभिन्न श्रृंगारिक सामग्रीले सिंगारिएको छ।
केही वर्षअघिसम्म ग्रामीण भेगमा ओझेलमा परेको यो मन्दिर अहिले भने धार्मिक तथा आन्तरिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। नगरपालिका र प्रदेश सरकारको बजेटमा निर्माण गरिएका विभिन्न धार्मिक संरचना, सुन्दर ग्रामीण परिवेश र ऐतिहासिक महत्वले यहाँको आकर्षण उल्लेखनीय रूपमा बढेको स्थानीय बताउँछन्।
जेठ ३ गतेदेखि सुरु भएको एकमहिने मत्स्यनारायण अर्थात् पुरुषोत्तम मेलाको उद्घाटन चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले गरेका थिए । उद्घाटनका क्रममा उनले ग्रामीण क्षेत्रको विकाससँगै मत्स्यनारायण क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा अघि बढाइएको बताएका थिए । उनका अनुसार सडक पहुँच, धार्मिक संरचना, आन्तरिक पर्यटकको बढ्दो आगमन, होटल तथा होमस्टे विस्तारले यहाँको पहिचान नै परिवर्तन हुँदै गएको छ।
एकमहिने पुरुषोत्तम मेला आयोजना समितिका संयोजक गोकर्ण पुरीका अनुसार मेलालाई व्यवस्थित बनाउन सिंगो गाउँ नै सक्रिय भएको छ। स्थानीयस्तरबाटै प्रवचन, भजनकीर्तन, पुरुषोत्तम महात्म्य वाचन तथा दर्शनार्थीका लागि पूजा व्यवस्थापन गरिएको उनले बताए। भक्तपुरका चारवटै नगरपालिका, काठमाडौं, ललितपुर, साँखु, मूलपानी तथा काभ्रेपलाञ्चोकलगायत विभिन्न स्थानबाट श्रद्धालु आउने अपेक्षा गरिएको छ।
पुरीका अनुसार दुई पीपलको बोटबीच अवस्थित पुरानो मन्दिर जीर्ण भएपछि पुनःनिर्माण गरिएको हो। मन्दिरसँग सम्बन्धित शिलालेख पुरिएकाले यसको उत्खनन र अध्ययन आवश्यक रहेको उनले बताए। करिब सय वर्ष पुरानो पूजा थाली अझै सुरक्षित रहेको र स्थानीयवासीको सक्रियताले अहिले मन्दिर वर्षभरि नै आन्तरिक पर्यटकको केन्द्र बनेको उनको भनाइ छ।
तीन साना खोलाको सङ्गमस्थलमा रहेको यो क्षेत्र “त्रिवेणी धाम” का नामले समेत परिचित छ। मन्दिर परिसरमा ६४ शिवलिङ्ग, सप्तऋषि मन्दिर, कृष्णवर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर तथा कुण्ड रहेका छन्। मलमास अवधिमा मात्रै ५० हजारभन्दा बढी दर्शनार्थी आउने अपेक्षा गरिएको छ। यहाँको कुण्डमा स्नान गरे छालासम्बन्धी रोग तथा अन्य रोग निको हुने धार्मिक विश्वास रहिआएको छ।
यसै वर्ष मन्दिर परिसरस्थित श्रीकृष्णवर्तेश्वर महादेव मन्दिरमा एउटै विशाल ढुङ्गाबाट निर्माण गरिएको २५ हजार ७७७ किलोग्राम तौलको गीताचार्य श्रीकृष्ण भगवानको विराट मूर्ति स्थापना भएपछि धार्मिक आकर्षण थप बढेको स्थानीयको भनाइ छ।
Published Date: 23 May 2026