नगरकोट, असोज २५ । ३२औँ विश्व शिक्षक दिवसको अवसरमा वी क्यान एजुकेशनल नेपाल, भक्तपुरले लामो समयदेखि शिक्षण पेसामा समर्पित रही शैक्षिक क्षेत्रमा योगदान पुर्याउँदै आएका ६ शिक्षकलाई दीर्घ शिक्षक सेवा सम्मान प्रदान गरेको छ। शिक्षकको योगदानको कदर गर्ने, शिक्षण पेसाप्रति सम्मान बढाउने तथा शैक्षिक क्षेत्रका सरोकारवालाबीच सहकार्य, एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
नगरकोटस्थित होटल भिस्टा रिट्रिटमा आयोजित कार्यक्रममा सम्मानित शिक्षकहरूलाई सम्मानपत्र, मेडल, तक्मा, प्रेरणादायी पुस्तक तथा शैक्षिक चलचित्रका टिकट प्रदान गरिएको थियो।
दीर्घ शिक्षक सेवा सम्मान प्राप्त गर्नेमा पाथीभरा एकेडेमीकी लक्ष्मी प्रधानाङ, सभ्यता शिक्षालयकी महिमा बयलकोटी, आरक्षण नेशनल एकेडेमीकी रितिमा भारती, ऋतम्भरा पाठशाला/कलेजकी रञ्जना चौगुठी, शिक्षा इङ्लिस स्कुलकी शारदा खड्का र माम्ती नेशनल स्कुलकी ममिता कार्की रहेका छन्।
कार्यक्रमका सभापति तथा वी क्यान एजुकेशनल नेपालका अध्यक्ष रमेश प्रसाद सिटौलाले शिक्षकको समर्पण, त्याग र योगदानको सम्मान गर्नु समग्र शैक्षिक क्षेत्रकै सम्मान भएको बताए। शिक्षक पाठ्यपुस्तकको ज्ञान दिने व्यक्ति मात्र नभई विद्यार्थीको चरित्र निर्माण गर्ने, जीवनोपयोगी सीप विकास गर्ने र जिम्मेवार नागरिक उत्पादन गर्ने राष्ट्र निर्माणका आधारस्तम्भ भएको उनको भनाइ थियो।
“शिक्षक पेसा केवल जीविकोपार्जनको माध्यम मात्र होइन, यो समाज र राष्ट्रको भविष्य निर्माण गर्ने दीर्घकालीन जिम्मेवारी हो,” सिटौलाले भने।
उनले शिक्षकले बदलिँदो शैक्षिक प्रणाली र प्रविधिअनुसार आफ्नो ज्ञान, सीप तथा शिक्षण विधिलाई निरन्तर परिमार्जन गर्नुपर्ने बताए। विद्यार्थीलाई भय र दबाबबाट मुक्त राख्दै दण्डरहित, सिर्जनात्मक तथा बालमैत्री वातावरणमा सिक्ने अवसर दिनुपर्नेमा उनले जोड दिए।
विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी नैतिकता, अनुशासन, संस्कार, नेतृत्व क्षमता, आत्मविश्वास र सामाजिक उत्तरदायित्व विकास गर्ने शिक्षा आजको आवश्यकता भएको सिटौलाले बताए। विद्यार्थीलाई हाँस्दै, खेल्दै र रमाउँदै सिक्ने वातावरण निर्माण गरी भविष्यका चुनौती सामना गर्न सक्ने सक्षम नागरिकका रूपमा तयार पार्न शिक्षकको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो।
शैक्षिक नीति र विद्यालयका व्यावहारिक समस्या सम्बोधन गर्न आग्रह
शिक्षा क्षेत्रका नीतिगत तथा व्यावहारिक विषय उठाउँदै सिटौलाले सरकारी नीति–नियमको पालना गर्दै विद्यालय सञ्चालन गर्नुपर्ने र विद्यालयले भोगिरहेका वास्तविक समस्यालाई पनि सम्बन्धित निकायले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताए।
कक्षा ५ सम्म आन्तरिक मूल्याङ्कनको प्रभावकारी कार्यान्वयन, शिक्षकको क्षमता विकास तथा निजी विद्यालयका व्यावहारिक समस्या समाधानका लागि सम्बन्धित पक्षबीच समन्वय आवश्यक रहेको उनले उल्लेख गरे।
विद्यालय सञ्चालनसम्बन्धी सरकारी निर्णय कार्यान्वयन गर्दा विद्यालयहरूले भोग्ने चुनौती समाधान गर्न सरकार, विद्यालय र अभिभावकबीच आपसी समझदारी र सहकार्य हुनुपर्नेमा उनले जोड दिए। शिक्षकको पेसागत सुरक्षा, मनोबल र दीर्घकालीन प्रतिबद्धता बढाउन उनीहरूको योगदानको निरन्तर कदर गर्ने संस्कृति विकास गर्नुपर्ने उनको भनाइ थियो।
प्रकाशन संस्था, पुस्तक व्यवसायी र सञ्चारकर्मी पनि सम्मानित
कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आएका विभिन्न प्रकाशन संस्था तथा पुस्तक व्यवसायीका प्रतिनिधिलाई कदरपत्र प्रदान गरिएको थियो।
सम्मानित हुने संस्थामा ग्रीन पब्लिकेसन, निमा पब्लिकेसन, स्वस्तिक पब्लिकेसन, अलाइड पब्लिकेसन, एकता पब्लिकेसन र आशिष् पब्लिकेसन रहेका छन्। त्यसैगरी, भक्तपुर पुस्तक व्यवसायी संघका उपाध्यक्षसमेत रहेका सत्य शक्ति पुस्तक भण्डारका सञ्चालक महेश थापालाई पनि सम्मान गरिएको थियो।
शिक्षा तथा सञ्चार क्षेत्रमा योगदान पुर्याउने सञ्चारकर्मीलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो। सम्मानित हुनेमा शिक्षा पत्रकार समूहका महासचिव, अन्नपूर्ण पोस्टका पत्रकार तथा ननस्टपखबर डटकमका सम्पादक सञ्जीव शुभचिन्तक, मैत्री न्युजका संवाददाता दीपेन्द्र श्रेष्ठ, नेपाल टेलिभिजनका संवाददाता अञ्जिल बी.के., आइकन खबर डटकम तथा रेडियो कान्तिपुरका कार्यक्रम प्रस्तोता किरण सुवाल, नमस्ते ख्वोप टेलिभिजनका प्रबन्धक ऋषिकेश श्रेष्ठ र राधेराधेस्थित क्यूएफएक्स चलचित्रका म्यानेजर केशव कार्की रहेका थिए।
शिक्षक, विद्यालय, प्रकाशन संस्था, पुस्तक व्यवसायी र सञ्चारमाध्यमबीचको सहकार्यले नवीन शैक्षिक सामग्रीको पहुँच विस्तार गर्न, शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन र शिक्षासम्बन्धी सकारात्मक सन्देश समाजमा प्रवाह गर्न सहयोग पुग्ने विश्वास कार्यक्रममा व्यक्त गरिएको थियो।
शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा योगदान गर्ने विद्यालयलाई कदर
वी क्यान एजुकेशनल नेपालले विभिन्न शैक्षिक, सिर्जनात्मक तथा अतिरिक्त क्रियाकलापमार्फत संस्थाका गतिविधिमा सहयोग पुर्याउने सदस्य विद्यालयलाई पनि सम्मानपत्र प्रदान गरेको थियो।
विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा, अनुभव आदानप्रदान र सहकार्यको वातावरण विकास गर्न यस्ता कार्यक्रम उपयोगी हुने आयोजकको भनाइ थियो। विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शैक्षिक उपलब्धिसँगै खेलकुद, कला, साहित्य, प्रश्नोत्तर प्रतियोगिता र अन्य सिर्जनात्मक गतिविधिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रममा गायक सरोज के.सी. र सुरज कपालीले सांगीतिक प्रस्तुति दिएका थिए भने निर्मल महतले बिङ्गो खेल सञ्चालन गरेका थिए। सहभागी विद्यालयका विद्यार्थी तथा प्रतिनिधिको गायन, नृत्य, सांस्कृतिक प्रस्तुति, शुभकामना आदानप्रदान र मनोरञ्जनात्मक गतिविधिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
संस्थाका सल्लाहकार जगदिश पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए। सदस्य विद्यालयका प्रतिनिधिहरूले सम्मानित शिक्षकलाई बधाई दिँदै उनीहरूको अनुभव र योगदान नयाँ पुस्ताका शिक्षकका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव कमल बहादुर सुवालले गरेका थिए भने कार्यक्रम संयोजक अनिश खत्रीले कार्यक्रमको उद्देश्य, संस्थाका गतिविधि तथा आयोजनाको महत्त्वबारे जानकारी गराएका थिए।
सहकार्य र एकताबाट गुणस्तरीय शिक्षा निर्माणको सन्देश
कार्यक्रमको समापनमा अध्यक्ष सिटौलाले शैक्षिक क्षेत्रको विकास कुनै एक व्यक्ति वा संस्थाको प्रयासबाट मात्र सम्भव नहुने बताए। विद्यालय, शिक्षक, अभिभावक, प्रकाशन संस्था, पुस्तक व्यवसायी, सञ्चारकर्मी तथा सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे।
शिक्षालाई गुणस्तरीय, व्यावहारिक, प्रविधिमैत्री र संस्कारयुक्त बनाउन सबै पक्षले साझा जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उनले जोड दिए। शिक्षकको सम्मानलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी उनीहरूको योगदानको निरन्तर कदर गर्ने, पेसागत विकासका अवसर सिर्जना गर्ने र शिक्षण पेसालाई आकर्षक तथा मर्यादित बनाउने वातावरण आवश्यक रहेको उनको भनाइ थियो।
वी क्यान एजुकेशनल नेपाल, भक्तपुरद्वारा आयोजित कार्यक्रमले शिक्षकको योगदानको कदर गर्दै शैक्षिक क्षेत्रका विभिन्न सरोकारवालाबीच सहकार्य, सद्भाव र एकताको महत्त्व उजागर गरेको छ। संस्कारयुक्त, जिम्मेवार र सक्षम नागरिक उत्पादन गर्ने साझा लक्ष्यका साथ अघि बढ्नुपर्ने सन्देशसहित कार्यक्रम सम्पन्न भएको थियो।