भक्तपुर, असोज २४ । प्रभात एक्स–स्टुडेन्ट्स एसोसिएसन (पेसा) ले आफ्नो वार्षिक पूर्वविद्यार्थी फुटसल प्रतियोगिता ‘२३औँ पेसा कप २०८३’ आयोजना गर्ने घोषणा गरेको छ। एसईई ब्याच २०७६ को प्रतिनिधित्वमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे औपचारिक जानकारी गराइएको हो।
भक्तपुरको ख्वप छेँमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले प्रतियोगिताको उद्देश्य, खेल तालिका तथा सहभागितासम्बन्धी नियम र व्यवस्थाबारे जानकारी दिएको थियो। कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरूले आयोजक समितिसँग प्रत्यक्ष संवाद गर्दै प्रतियोगितासम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए।
आयोजकका अनुसार प्रतियोगिता आगामी असोज ३१ र कात्तिक १ गते भक्तपुरको आदर्शस्थित हेल्दी फुटसलमा सञ्चालन हुनेछ। प्रतियोगितामा वि.सं. २०५४ देखि २०८३ सम्मका एसईई ब्याचका पूर्वविद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन्।
पूर्वविद्यार्थीबीच आपसी सम्बन्ध, एकता, सहकार्य र खेलकुद भावनालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। पेसा कपले विभिन्न पुस्ताका पूर्वविद्यार्थीलाई एउटै खेलमैदानमा जोड्दै मित्रता र स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।
पत्रकार सम्मेलनमा आयोजक समितिले कार्यक्रममा उपस्थित सञ्चारकर्मीप्रति आभार व्यक्त गर्दै प्रतियोगितालाई सफल र स्मरणीय बनाउन सञ्चारमाध्यमको सकारात्मक भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ।
पेसा कपको २३औँ संस्करणले पूर्वविद्यार्थीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै खेलकुदमार्फत आपसी एकता र सद्भाव अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
Published Date: 10 October 2026