भक्तपुर, कार्तिक १५ । नगरकोट भ्रमण वर्षलाई लक्षित गरी निर्माण सुरु गरिएको चाँगुनारायण नगरपालिका प्रवेशद्वार तीन वर्ष बितिसक्दा पनि सम्पन्न नभएपछि स्थानीयवासीले आइतबार विरोध प्रदर्शन गरेका छन्।
कमलबिनायकस्थित नगरकोट सडकखण्डमा रहेको प्रवेशद्वार निर्माणमा निरन्तर ढिलाइ भएको र अधुरो संरचनाले सडक आवागमनमा अवरोध तथा दुर्घटनाको जोखिम बढाएको भन्दै स्थानीयले करिब एक घण्टा सडक अवरुद्ध गरेका हुन्।
निर्माण सम्पन्न गर्न अन्तिम पटक १५ दिनको म्याद थप गरिएको सूचना प्रकाशित भएको एक महिना बितिसक्दा पनि काम पूरा नभएपछि स्थानीय आक्रोशित भएका हुन्। उनीहरूले निर्माणमा भएको ढिलाइको कारण सार्वजनिक गर्न, सम्बन्धित पक्षलाई जवाफदेही बनाउन र बाँकी काम तत्काल सम्पन्न गर्न माग गरेका छन्।
स्थानीयवासीले अब मौखिक आश्वासनमा विश्वास गर्ने अवस्था नरहेको भन्दै निश्चित समयसीमासहित लिखित प्रतिबद्धता माग गरेका छन्। निर्माण कार्य अघि नबढे थप दबाबमूलक कार्यक्रम गर्ने चेतावनीसमेत दिएका छन्।
नगरकोट पुग्ने प्रमुख सडकखण्डमै रहेको उक्त प्रवेशद्वार तीन वर्षसम्म अधुरै रहनुले नगरपालिकाको विकास निर्माण कार्यान्वयन र अनुगमनमाथि प्रश्न उठाएको छ। पर्यटकलाई स्वागत गर्ने उद्देश्यले सुरु गरिएको संरचना नै अलपत्र रहँदा नगरकोट र चाँगुनारायणको पर्यटन छविमा समेत असर परेको स्थानीयको गुनासो छ।
Published Date: 01 November 2026