मध्य भोटेकोसी जलविद्युत आयोजनाको निर्माण धमाधम

मध्य भोटेकोसी जलविद्युत आयोजनाको निर्माण धमाधम : Icon Khabar

काठमाडौं, फागुन २६ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । अन्तिम चरणका कामहरु भइरहेको आयोजनाको निर्माण आगामी असारभित्र सक्ने लक्ष्य राखिएको छ ।

आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचना (हेडवक्र्स)को निर्माण सम्पन्न भएको छ । हाल हेडवक्र्स क्षेत्रको प्रोटेक्सन कार्य भइरहेको छ । ७.२ किलोमिटर मुख्य सुरुङ खन्ने कार्य सम्पन्न गरी कंक्रिट लाइनिङको काम भइरहेको छ ।
विद्युत गृहको मुख्य सिभिल कार्य सम्पन्न गरी टर्वान, जेनेरेटर, नियन्त्रण कक्षका उपकरणहरु जडान भइरहेको छ ।

विद्युत गृहबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब चार किलोमिटर २२० केभी प्रसारण लाइनका टावरहरु निर्माण सम्पन्न भएको छ । तार तान्न बाँकी रहेको छ ।

२०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी महाभूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना नेपाल भारत सीमा नाकामा भएको अवरोध, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, २०७७ असारमा निर्माणस्थल भोटेकोसी नदी एवं आसपासको क्षेत्रमा आएको बाढी–पहिरो र कोभिड–१९को महामारीको चपेटामा आयोजना परेको थियो ।

प्राकृतिक विपत्ति र सिभिल एण्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्यासम्पादनका कारण आयोजनाको निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको थियो ।

तर, करिब दुई वर्षको अवधिमा ठेकेदार कम्पनीले उत्साहजनक रुपमा काम गरी आयोजनालाई निर्माण सम्पन्न हुने अवस्थामा पु¥याएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान, आयोजनाको प्रवद्र्धक मध्य भोटेकोसी जलविद्युत कम्पनीका अध्यक्ष सुभाष कुमार मिश्र, प्रमुख कार्यकारी अधिकृत (सीइओ) रामगोपाल सिवाकोटी सहितको टोलीले निर्माणस्थलको निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएको छ ।

टोलीले आयोजना व्यवस्थापन, ठेकेदार कम्पनीहरु र परामर्शदातासँग छलफल गरी ४ महिनाभित्र सम्पन्न गर्ने गरी बाँकी रहेका कामलाई तिब्रता दिन निर्देशन दिएको छ ।

कार्यकारी निर्देशक घिसिङले प्रकृतिक प्रकोपको चपेटामा परेर करिब करिब बन्द अवस्थामा पुगिसकेको आयोजनाको हालको निर्माण प्रगति सन्तोषजनक देखिएको बताए । कम्पनीका सीइओ सिवाकोटीले ठेकेदार कम्पनीको कार्यसम्पादनमा सुधार आएकाले आगामी असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखी सोही बमोजिम एकीकृत तालिका बनाएर काम भइरहेको बताए ।

ठेकेदार कम्पनीका प्रतिनिधिहरुले कुनै समस्या नआएमा तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने काम गरिरहेको बताएका थिए । आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको थियो । इलेक्ट्रो मेकानिकलतर्फको काम भने एन्ड्रिज हाइड्रोले गरिरहेको छ ।

आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याज बाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याज बाहेक १५ अर्ब ३ करोड २ लाख ९० रुपैयाँ रहेको छ । निर्माणाधीन आयोजनाको सुरुको कुल लागत मध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ ।

कम्पनीको जारी पूँजीको ५१ प्रतिशत संस्थापक शेयरधनीहरु मध्येमा प्राधिकरणको १०, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको १, नेपाल अरनिको हाइड्रोपावर कम्पनी लिमिटेडको १, सिन्धु इन्भेष्टमेण्ट कम्पनी प्रा.लि.को १ र सिन्धु भोटेकोशी हाइड्रोपावर लि.को १ प्रतिशत सेयर रहेको छ ।

४९ प्रतिशत साधारण शेयरधनी समुहमा (कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५,ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकबासीकोे १० र सर्वसाधारणको १५ प्रतिशत सेयर) रहेका छन् । कम्पनीले साधारण सेयर निश्कासन गरी रकम संकलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ताहरु १० लाख ७५ हजार छन् ।

आयोजनाबाट वार्षिक रुपमा ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु ८.४० र ४.८० मा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 March 2023
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित