एनपीएलमा आज जनकपुर र पोखराबीच भिडन्त, जनकपुर दोस्रो जितको खोजीमा

एनपीएलमा आज जनकपुर र पोखराबीच भिडन्त, जनकपुर दोस्रो जितको खोजीमा : Icon Khabar

काठमाडौं, कार्तिक १५  । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल अपराह्न ४ः३० बजे सुरु हुनेछ।

आजको खेलमा जनकपुर बोल्ट्स प्रतियोगितामा दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिँदा पोखरा एभेन्जर्स भने पहिलो जितको खोजीमा हुनेछ। जनकपुरका कप्तान हर्मित सिंह र पोखराका कप्तान कुशल भुर्तेलबीचको रणनीतिक प्रतिस्पर्धालाई खेलको मुख्य आकर्षणका रूपमा हेरिएको छ।

जारी प्रतियोगितामा जनकपुरको प्रदर्शन मिश्रित रहेको छ। दुई खेल खेलेको जनकपुरले एकमा जित र एकमा हार बेहोरेको छ। पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरले त्यसपछि काठमाडौं गोर्खाजलाई हराउँदै जितको लयमा फर्किएको थियो।

यता, पोखरा एभेन्जर्सले भने प्रतियोगिताको पहिलो खेलमै सुदूरपश्चिम रोयल्ससँग हार बेहोरेको थियो। त्यसैले आजको खेल पोखराका लागि प्रतियोगितामा पहिलो जित दर्ता गर्दै अंकतालिकामा खाता खोल्ने अवसरका रूपमा रहेको छ।

दुई टोलीबीचको विगतको प्रतिस्पर्धालाई हेर्दा दुवैको अवस्था बराबरी देखिन्छ। एनपीएलका अघिल्ला दुई संस्करणमा भएका भेटमध्ये दुवै टोलीले एक–एक खेल जितेका छन्। सन् २०२५ को संस्करणमा पोखराले जनकपुरलाई २५ रनले पराजित गरेको थियो भने सन् २०२४ मा जनकपुरले पोखरामाथि सात विकेटको जित निकालेको थियो।

त्रिवि क्रिकेट मैदानमा हुने आजको प्रतिस्पर्धामा दुवै टोली आफ्ना प्रमुख खेलाडीको प्रदर्शनमा निर्भर रहनेछन्। जनकपुर जितको लयलाई निरन्तरता दिन चाहन्छ भने पोखरा पहिलो जितसहित प्रतियोगितामा पुनरागमन गर्ने योजनामा हुनेछ।

Published Date: 01 November 2026
Website | + posts