भक्तपुर, फागुन २६ । साइकलिङ संस्कृतिको प्रवर्द्धन तथा महिलाहरूको सहभागिता बढाउने उद्देश्यले साइकल कनेक्ट भक्तपुर ले ‘साइकलिङ माईचा समिति’ गठन गरेको छ।
साइकल कनेक्ट भक्तपुरको सुरुवाती चरणमा महिलाहरूको सहभागिता निकै न्यून रहेको भए पनि वर्षौंसम्म निरन्तर सञ्चालन गरिएका कार्यक्रम, अभियान तथा प्रगतिशील गतिविधिहरूका कारण महिलाहरूको सक्रियता उल्लेखनीय रूपमा बढ्दै गएको छ। सोही क्रमलाई संस्थागत बनाउने उद्देश्यसहित फागुन २३ गते पहिलो पटक ‘साइकलिङ माईचा समिति’ औपचारिक रूपमा गठन गरिएको हो।
नवगठित समितिको संयोजकमा दिल लक्ष्मी स्थापित चयन हुनुभएको छ। समितिका सदस्यहरूमा सबिना सुवाल, रामलक्ष्मी प्रजापति, राज्य कोजु, उर्मिला ताम्राकार, सबिना कसुला र सूर्यलक्ष्मी प्रजापति रहनुभएको छ।
महिलाहरूलाई साइकलिङ गतिविधिमा थप सक्रिय बनाउँदै स्वास्थ्य, वातावरण संरक्षण तथा दिगो यातायातको सन्देश प्रवाह गर्ने उद्देश्यले समितिले विभिन्न कार्यक्रम सञ्चालन गर्ने अपेक्षा गरिएको छ।
Published Date: 10 March 2026