भक्तपुर, कार्तिक १६ । रोटरी क्लब अफ भक्तपुरको आयोजनामा सञ्चालित तीनदिने रोटरी पुस्तक प्रदर्शनी २०८३ आइतबार सम्पन्न भएको छ।
समापन कार्यक्रममा प्रमुख अतिथि रोटरीका डिस्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्कीले पुस्तक प्रदर्शनीलाई रोटरीको इतिहासमै नौलो र सिर्जनात्मक कार्यक्रमका रूपमा उल्लेख गर्दै प्रतिकूल मौसमका बाबजुद पुस्तकप्रेमीहरूको साथ र सहयोगले कार्यक्रम सफल भएको बताए। उनले पुस्तक ज्ञानको स्रोत मात्र नभई समाज परिवर्तन र सभ्य भविष्य निर्माणको आधार भएको उल्लेख गरे।
कार्यक्रमका विशिष्ट अतिथि भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेले पुस्तक प्रदर्शनीले विद्यार्थी तथा नयाँ पुस्तामा अध्ययन गर्ने प्रेरणा जगाउने बताए।
कार्यक्रमका सभापति तथा रोटरी क्लब अफ भक्तपुरका अध्यक्ष दशरथ प्रजापतिले मोबाइल र टेलिभिजनजस्ता विद्युतीय उपकरणको बढ्दो प्रयोगबीच सानै उमेरदेखि पुस्तक पढ्ने बानीको विकास गराउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताए।
प्रदर्शनीका क्रममा पठन संस्कृतिसम्बन्धी अन्तरक्रिया, गजल वाचन तथा कविता वाचनलगायतका कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई क्लबले मायाको चिनो प्रदान गरी सम्मान गरेको थियो।