भक्तपुर, कार्तिक १३ । भक्तपुरमा यस वर्षको स्वन्ति नखाः (तिहार) अन्तर्गत लक्ष्मी पूजा, म्हः पूजा र किजा पूजा फरक–फरक तीन दिन मनाइने भएको छ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा तलेजुका पुजारी, ज्योतिष, कर्माचार्य, नवदुर्गा देवगण तथा जात्रा व्यवस्थापन समितिका पदाधिकारीसहित सरोकारवालाहरूको उपस्थितिमा भएको छलफलले तान्त्रिक विधि र तिथिका आधारमा स्वन्ति नखाः मनाउने मिति तय गरेको हो।
बैठकको निर्णयअनुसार २०८३ कार्तिक २२ गते आइतबार साँझ दीपावलीसहित लक्ष्मी पूजा, कार्तिक २३ गते सोमबार साँझ म्हः पूजा र कार्तिक २४ गते मंगलबार साँझ किजा पूजा मनाइनेछ।
निर्णयअनुसार कार्तिक २२ गते बिहान १०ः५४ बजेपछि औँसी तिथि प्रारम्भ हुने भएकाले सोही दिन साँझ लक्ष्मी पूजा गर्ने तय भएको छ। त्यसैगरी, कार्तिक २३ गते बिहान ११ः३३ बजेपछि प्रतिपदा तिथि सुरु हुने र कार्तिक २४ गते दिउँसो १२ः४१ बजेपछि द्वितीया तिथि प्रारम्भ हुने भएकाले क्रमशः म्हः पूजा र किजा पूजा मनाउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
विभिन्न पात्रो तथा सरोकारवालाबाट सार्वजनिक भएका फरक–फरक मितिका सूचनाले सर्वसाधारणमा अन्योल सिर्जना हुन सक्ने भन्दै नगरपालिकाले सरोकारवालासँग छलफल गरी साझा निर्णय गरेको हो।
बैठकमा ज्योतिष डा. वीरेन्द्रप्रसाद कायस्थ, पुजारी सिद्धिवीर कर्माचार्य, नेपाल ज्योतिष परिषद् भक्तपुरका निवर्तमान जिल्ला अध्यक्ष केदारप्रसाद दैवज्ञ जोशी तथा नवदुर्गा देवगण एवं जात्रा व्यवस्थापन समितिका बालगोपाल वनमालालगायतको उपस्थिति रहेको थियो।
Published Date: 30 October 2026