नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम ७ अर्ब ४३ करोड रुपैयाँ नाघ्यो

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम ७ अर्ब ४३ करोड रुपैयाँ नाघ्यो : Icon Khabar

काठमाडौं, कात्तिक १८ । साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले वृद्धि भएर बन्द भएको छ। अघिल्लो कारोबार दिन मंगलबार पनि सामान्य वृद्धि भएको बजारले बुधबार समेत सोही लयलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक १.४० अंकले बढेर २ हजार ६६५.५३ विन्दुमा पुगेको छ। यद्यपि, सेन्सेटिभ इण्डेक्स भने २.६९ अंकले घटेको छ। त्यस्तै, फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९९ अंकले ओरालो लागेको छ।

परिसूचकमा सामान्य सुधार देखिए पनि बजारमा कारोबार रकम भने उल्लेख्य बढेको छ। मंगलबार ५ अर्ब ६५ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बुधबार ३५८ वटा स्टकको ५९ हजार १८५ पटकको कारोबारबाट कुल ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार रुपैयाँ बराबरको २ करोड १२ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेपाल पुनर्बीमा कम्पनीको शेयरमा सकारात्मक सर्किट

यस दिन नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य १२० रुपैयाँ २० पैसाले बढेर प्रतिकित्ता ९२१ रुपैयाँ ७० पैसा पुगेको हो।

मन्त्रिपरिषद् बैठकले नेपाल पुनर्बीमा कम्पनीमा नेपाल सरकारको थप हकप्रद शेयर लगानी गर्न सहमति प्रदान गर्ने निर्णय गरेसँगै कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि देखिएको हो।

त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको शेयरमूल्य ११.५ प्रतिशतभन्दा बढी र श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयरमूल्य ८.५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। यता, सिभिल बैंक डिबेञ्चर २०८८ को मूल्य सर्वाधिक ६.३४ प्रतिशतले घटेको छ।

कारोबारमा श्वेत गंगा हाइड्रोपावर अगाडि

कारोबार रकमका आधारमा श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन शीर्ष स्थानमा रहेको छ। कम्पनीको ८५ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

त्यसैगरी, घोराही सिमेन्ट इण्डष्ट्रीको ५१ करोड रुपैयाँभन्दा बढी र हिमालयन रि इन्स्योरेन्सको ३६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

९ उपसमूहको परिसूचक घट्यो

बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ।

यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ६.१८ प्रतिशतले बढेको छ। व्यापार उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। त्यस्तै, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहमा सामान्य सुधार देखिएको छ।

समग्रमा बजार परिसूचकमा सामान्य वृद्धि भए पनि कारोबार रकममा उल्लेख्य बढोत्तरी देखिएको बुधबारको बजारमा अधिकांश उपसमूह भने दबाबमा रहेका छन्।

Published Date: 04 November 2026
Website | + posts




















ताजा
नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम ७ अर्ब ४३ करोड रुपैयाँ नाघ्यो
आज बुधबारको राशिफल
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा विदेशी नागरिकको मृत्यु, एक घाइते
३३ लाख रुपैयाँसहितको कार अख्तियारको फन्दामा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरे पक्राउ


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक