काठमाडौँ, माघ १० । तल्लो मुस्ताङमा चार वर्षपछि यस सिजनको पहिलो पटक हिमपात भएको छ । गएरातिदेखि तल्लो मुस्ताङमा पर्ने थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका बजार तथा ग्रामीण क्षेत्रमा हिमपात भइरहेको छ ।
हिमपात भएसँगै चिसो अत्यधिक बढेको छ । बेनी–जोमसोम सडकको यातायात सेवामा भने हिमपातले असर गरेको छैन । यातायातका साधन चलिरहेका छन् । गएको कात्तिक महिनाको दोस्रो साता हिन्दू तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तिर्थस्थलको मुक्तिनाथ मन्दिर तथा माथिल्लो मुस्ताङमा हिमपात भए पनि कागबेनीदेखि तल हिमपात भएको थिएन ।
अत्याधिक चिसोसँगै हिमपातका कारण सर्वसाधारणको दैनिकी प्रभावित भएको छ । चिसो बढेकाले सर्वसाधारण घर बाहिर निस्कन नसकेको बारागुङ मुक्तिक्षेत्र–४,का वडा अध्यक्ष कर्म घ्यचो गुरुङले बताए। वडा अध्यक्ष गुरूङले भने, ‘‘चार वर्षपछि हिमपात भएको छ, अत्याधिक चिसोका कारण सुनसान ।’’ सदरमुकाम जोमसोमस्थित पुथाङ एयरर्पोटबाट समेत आसपासका क्षेत्रमा सेताम्मे हिमपात देखिन्छ । पछिल्लो समयत अत्याधिक चिसोले पर्यटकीयस्थल पनि सुनसान छन् । यता हिमपातले कृषकमा भने खुशीयाली छाएको छ ।
हिउँ पग्लिएर खेतबारीमा रहेको किराहरु मर्ने, चिस्यानका कारण गर्मी सिजनमा बोटबिरुवा फस्टाउने भएकाले उत्पादन बढ्ने कृषि तथा पशु विकास कार्यालय मुस्ताङका कार्यालयका प्रमुख डा.लालमणी अर्यालले बताए । हिमपातले स्याउ लगायत अन्य फलफुल, कृषि उत्पादनलाई सघाउने प्रमुख अर्यालको भनाइ छ ।
हिमपातले स्याउ, जौँ, गहुँ, उवा, फापर बालीको उत्पादन वृद्धि हुन्छ । स्याउको परागसेचनका लागि चिसो तापक्रमको आवश्यकता पर्ने र चरन क्षेत्रमा समेत घाँस पलाउन सहज हुने भएकाले नियमित हिमपात कृषकलाई बरदान सावित हुने डा. अर्यालको भनाइ छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण नियमित हिमपात नहुदाँ कृषि, पशुपालनको क्षेत्रलाई असर गरेको थियो । यसैबिच उपल्लो मुस्ताङमा चिसो बढेसँगै अधिकांश नागरिक जाडो छल्न बेसी झरिसकेका छन् भने विकास निर्माणका काम रोकिएको छ । स्थानीय तह तथा अन्य सरकारी कार्यालयमासेवाग्राहीको उपस्थिति पनि न्यून छ ।
Published Date: 24 January 2026