इजरायली सैन्य कारबाहीका कारण गाजामा हजारौं मानिस घरबार विहीन

इजरायली सैन्य कारबाहीका कारण गाजामा हजारौं मानिस घरबार विहीन : Icon Khabar

काठमाडौँ, भदौ ११ । इजरायली सैन्य कारबाही सुरु भएयता गाजा सिटीमा हजारौं मानिस घरबार विहीन भएका छन् । संयुक्त राष्ट्रका मानवीय सहयोगकर्ताले मंगलबार यस्तो जानकारी दिएका छन् ।

संयुक्त राष्ट्रको मानवीय मामिला समन्वय गर्ने कार्यालयले भदौ १४ देखि २५ सम्ममा ३६ हजार दुई सयभन्दा बढी मानिस विस्थापित भएको तथ्यांक सार्वजनिक गरेको छ । ती मध्ये करिब ११ हजार ६ सय मानिस गाजाको उत्तर भागबाट दक्षिण भागमा सरेका छन् । मात्र आइतबारदेखि सोमबारसम्म मात्रै दुई हजार बढी मानिस विस्थापित भएका थिए ।

अधिकांश विस्थापित गाजा सिटीका विभिन्न बस्तीबाट आएका छन् । दुई तिहाइभन्दा बढी ‘देइर अल-बालाह’ क्षेत्रतर्फ र झन्डै एक तिहाइ ‘खान यूनिस’ क्षेत्रतर्फ सरेका छन् । गाजा स्वास्थ्य निकायले विगत २४ घण्टामा पोषण अभाव र भोकमरीका कारण थप तीन जनाको मृत्यु भएको जनाएको छ । यससँगै पोषण अभावका कारण मृत्यु हुनेको संख्या ३०३ पुगेको छ , जसमा ११७ बालबालिका छन् ।

गाजाका अस्पतालले रगतको गम्भीर अभाव भएको चेतावनी दिएका छन् । दैनिक ३५० युनिटभन्दा बढी रगतको आवश्यकता भए पनि, भोकमरी र पोषण समस्याका कारण रगतको दान कम भएको छ । यसले घाइतेको उपचारमा थप समस्या सिर्जना गरेको छ । त्यसैगरी, इजरायली अधिकारीले गाजा क्षेत्रमा सहायता सामग्री ल्याउन र वितरण गर्न अवरोध पुर्याइरहेका छन् ।

यसले संयुक्त राष्ट्र र सहयोगी संस्थाले जीवनरक्षक सामग्री पुर्याउन कठिनाइ भोग्नु परेको छ । सोमबार योजनाबद्ध १२ मध्ये ६ सहायता अभियान इजरायली अधिकारीसँग समन्वय गरी सम्पन्न भएका छन् । तर, केरम शालोम र जिकिम सीमा नाकाबाट सामग्री ल्याउने तीन अभियान आंशिक मात्र सफल भएका छन् भने दुई अभियान रद्द गर्नु परेको छ ।

सडक मर्मतका लागि अनुरोध गरिएको अभियानलाई पनि अनुमति दिइएको छैन । मानवीय सहयोगकर्ताले गाजामा भोकमरी पुष्टि भइसकेको भन्दै, युद्ध, विस्थापन र सहायता अवरोधका कारण मानवीय अवस्था अत्यन्तै नाजुक भएको बताएका छन् । संयुक्त राष्ट्रको कार्यालयले भनेको छ, “तत्काल शान्ति कायम गर्नुपर्छ र सम्पूर्ण क्षेत्रमा अवरोधविहीन मानवीय सहायता पुग्नुपर्छ । यसले पीडित नागरिकहरूको दुख कम गर्न सहयोग गर्ने छ ।” – रासस/सिन्ह्वा

Published Date: 27 August 2025


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु