जापानमा जन्मदरमा निरन्तर कमी

जापानमा जन्मदरमा निरन्तर कमी : Icon Khabar

टोकियो, जेठ २२ । जापानमा गत वर्ष पहिलो पटक सात लाखभन्दा कम शिशुले जन्म लिएको बुधबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ । जापानले सन् २०२४ मा ६ लाख ८६ हजार ६१ नवजात शिशुलाई स्वागत गरेको छ । यो सन् २०२३ को तुलनामा ४१ हजार २२७ ले कम हो । यस्तै, यो संख्या सन् १८९९ मा रेकर्ड सुरु भएयताकै सबैभन्दा कम जन्मदर हो ।

विश्व बैंकका अनुसार कुल जनसंख्याको आधारमा औसतमा हेर्दा विश्वको सबैभन्दा धेरै वृद्ध व्यक्तिहरुको जनसंख्या भएको देश मोनाको हो भने दोस्रो स्थानमा जापान रहेको छ । प्रधानमन्त्री शिगेरु इशिबाले स्थितिलाई ‘शान्त आपतकालीन अवस्था’ को संज्ञा दिँदै यस प्रवृत्तिलाई उल्टाउन प्रयास गर्न थप लचिलो कार्य घण्टाजस्ता परिवार–अनुकूल उपायहरुको प्रतिज्ञा गरेका छन् ।

जापानको स्वास्थ्य मन्त्रालयको बुधबारको तथ्यांकअनुसार जापानको कुल प्रजनन दर (एक महिलाले बच्चा जन्माउने औसत संख्या) पनि १.१५ मा झरेको छ । जापानमा सन् २०२४ मा १६ लाख मानिसको मृत्यु भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १.९ प्रतिशतले बढी हो ।

जनसंख्याका हिसाबले खुम्चिँदै गएका गाउँहरुमा वृद्धहरु झन् झन् एक्लो हुँदै गएपछि प्रधानमन्त्री इशिबाले ग्रामीण क्षेत्रहरुको पुनरुत्थानको लागि आह्वान गरेका छन् । जापानको आन्तरिक मामिला मन्त्रालयका अनुसार जापानमा २० हजारभन्दा बढी समुदायका अधिकांश बासिन्दा ६५ वर्ष वा सोभन्दा माथिका छन् ।

भण्डै १२ करोड ३० लाख जनसंख्या भएको यो देशले वृद्ध उमेर भएका व्यक्तिको जनसंख्या बढ्दै जाँदा कामदारको चरम अभावको सामना गरिरहेको छ । सरकारले यस समस्यालाई समाधान गर्न अपनाएको अपेक्षाकृत कडा अध्यागमन नियमले वृद्ध जनसंख्यालाई सहयोगका लागि आवश्यक राहत दिन सकेको छैन ।

छिमेकी मुलुक दक्षिण कोरियामा सन् २०२४ मा प्रजनन दर जापानको तुलनामा अझै कम अर्थात् ०.७५ प्रतिशत रहेको छ । यो विश्वकै सबैभन्दा कम मध्येको एक हो तर विवाहमा भएको वृद्धिका कारण अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा जन्मदरमा सामान्य वृद्धि भएको छ । एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 June 2025
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला