बिपी राजमार्ग (भकुण्डेबाट नेपालथोकसम्म) पुन:निर्माण गर्न ९.६६ अर्ब खर्च हुने

बिपी राजमार्ग (भकुण्डेबाट नेपालथोकसम्म) पुन:निर्माण गर्न ९.६६ अर्ब खर्च हुने : Icon Khabar
फाइल तस्बिर

काठमाडौँ, पुस २१ । बिपी राजमार्गको विभिन्न सडकखण्डको पुन:निर्माणका लागि ९ अर्ब ६६ करोड रुपैयाँ खर्च हुने भएको छ । गत असोज दोस्रो साताको बाढीपहिरो बाट राजमार्ग क्षतिग्रस्त बनेपछि गरिएको अध्ययनले यस्तो जनाएको हो ।

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुन:निर्माण गर्न उक्त रकम खर्च हुने अनुमान गरिएको हो ।

उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडकखण्डमध्ये ८ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो ।

कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार उक्त सडकमा तीन किसिमका पर्खाल (आरसिसी रिटेनिङ, प्लम र गेभियन वाल) लगाउनुपर्ने अध्ययनबाट देखिएको छ ।

राजमार्गको भत्किएको खण्ड पुनर्निर्माणका विषयमा जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले गत कात्तिक दोस्रो साता अध्ययन गरेको थियो ।

उक्त राजमार्ग पुनःर्निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुुता युताकासँग छलफल गरेका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जाइकासँग उक्त सडकखण्ड पुनर्निर्माणका लागि सहयोगको प्रस्ताव गरिसकेको छ । मन्त्रालय जाइकाको प्रतिवेदन र जवाफको पर्खाइमा रहेको छ ।

मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् व्यवस्थापन कोषमा रहेको बजेट माग गर्ने तयारी छ ।

यस्तै दातृ निकायहरू एसियाली विकास बैंक (एडिबी) र विश्व बैंकको सहुलियतपूर्ण ऋण लिएर भए पनि राजमार्ग पुनर्निर्माणको तयारी छ ।

Published Date: 05 January 2025


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?