राष्ट्रपतिद्वारा नेपालमा लगानी गर्न जापानीलाई आग्रह

राष्ट्रपतिद्वारा नेपालमा लगानी गर्न जापानीलाई आग्रह : Icon Khabar
राष्ट्रपति पौडेलसँग जापानका प्रतिनिधिमण्डलको शिष्टाचार भेट काठमाडौँ, १४ साउनः राष्ट्रपति रामचन्द्र पौडेलसँग सोमबार राष्ट्रपति भवन शीतल निवासमा जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गर्दै । तस्बिर सौजन्यः राष्ट्रपतिको सचिवालय÷रासस

काठमाडौँ, साउन १४ । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको उक्त भेटमा राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत, पर्यटन र कृषिजस्ता क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण भएको बताए ।

उनले सरकारले हालैमात्र कानुनमा सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सृजना गरेको उल्लेख गर्दै नेपालमा लगानीका लागि जापानीहरूलाई आग्रह गरे ।

नेपालमा जापानको निःसर्त र निःस्वार्थ सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै राष्ट्रपति पौडेलले एसियाका ज्योति गौतम बुद्धका माध्यमले जापानसँग नेपालको सम्बन्ध सांस्कृतिक रुपले पनि जोडिएको बताए । नेपाल–जापानबीचको जनस्तरमा समेत सम्बन्ध सुदृढ रहेको उनको भनाइ थियो ।

त्यस अवसरमा जापानी प्रतिनिधिमण्डलले जापानी कम्पनीहरुले नेपालमा लगानी गर्न चाहेकाले ती कम्पनीलाई लगानी गर्न सहज वातावरण बनाउन राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराए ।

जापान पढ्न जाने धेरै नेपालीलाई भेट्दा जापानमाा प्रविधि सिकेर नेपाल नै फर्केर त्यसको सदुपयोग गर्न चाहेको बताउँदा खुसी लागेको उल्लेख गर्दै उनीहरुले नेपाल सरकारले त्यस्तो प्रविधि सिकेकालाई नेपालमै बसेर काम गर्ने वातावरण बनाउन सुझाव दिए । -रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 July 2024
Website | + posts