काठमाडौं उपत्यका भौतिक विकास समितिको १८ औं बैठक सम्पन्न

काठमाडौं उपत्यका भौतिक विकास समितिको १८ औं बैठक सम्पन्न : Icon Khabar

भक्तपुर, असार १२ । काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत गठित काठमाडौं उपत्यका भौतिक विकास समितिको १८ औं बैठक समितिका अध्यक्ष माननीय शहरी विकास मन्त्री धनबहादुर बुढाको अध्यक्षतामा मंगलबार सम्पन्न भयो ।

उक्त बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन २०४५ को दफा ५.१ बमोजिम तयार गरेको ताथली चलाबु जग्गा एकीकरण आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) सहितको भौतिक विकास योजना सोही ऐनको दफा ५.२ बमोजिम स्वीकृतिको लागि नेपाल सरकारसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

साथै सोही बैठकले ताथली चलाबु जग्गा एकीकरण आयोजना सञ्चालन गर्नको लागि आवश्यक पर्ने जग्गा प्राप्ति ऐन २०३४ बमोजिम प्राप्त गरी काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन २०४५ को दफा ११ बमोजिम प्राधिकरणलाई जग्गा उपलब्ध गराइदिन नेपाल सरकार (मन्त्रिपरिषद) समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकमा बोल्दै मन्त्री बुढाले नगरलाई व्यवस्थित गराउने उद्देश्यले काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाका विभिन्न ठाउँहरुमा जग्गा एकीकरणको अवधारणालाई अगाडि बढाउँदै आएको बताए । प्राधिकरणले भक्तपुर जिल्लाको भक्तपुर नपा वडा नं. ९ र चाँगुनारायण नपा वडा नं. ९ ताथलीमा जग्गा विकास कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव तयार गरेको बताउँदै आयोजना सञ्चालनले उक्त क्षेत्रको व्यवस्थित रुपमा विकास हुने विश्वास व्यक्त गरे ।

बैठकमा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपत्यका विकास प्राधिकरणले ठूल्ठूला योजनाहरु एकैसाथ सञ्चालन गर्नु भन्दा स्थानीय सरकारको आवश्यकताअनुसार आवास योजनाहरु सञ्चालन गरिनुपर्नेमा जोड दिए।

उपत्यकामा अव्यवस्थित सहर निर्माणसँगै जनसंख्या वृद्धिले धेरै समस्याहरु उत्पन्न गराएको बताउँदै उनले काठमाडौं केन्द्रित विकासले उपत्यकाको मौलिकता संरक्षणमा बाधा पुर्याउने धारणा राखे ।

आवास योजना सञ्चालन गर्दा परम्परागत खानेपानीको मुहान संरक्षणमा विशेष जोड दिनुपर्ने बताउँदै उनले विदेशी ऋण लिएर देश विकास गर्ने सोचले देशलाई झन् झन् परनिर्भर बनाउँदै लाने विचार राखे ।

कार्यक्रममा काठमाडौं उपत्यका विकास प्राधिकरण भौतिक विकास समितिका सदस्य सचिव जानुका ढकालले ताथली चलाबु जग्गा एकीकरण आयोजनाको भौतिक विकास योजना स्वीकृतिलगायतका विषयमा प्रस्तुतीकरण देखाएकी थिइन् ।

उक्त बैठकमा ललितपुरका प्रतिनिधिसभा सदस्य उदयशमशेर राणा, काठमाडौंका प्रतिनिधिसभा सदस्य गणेश पराजुली, उपत्यका विकास प्राधिकरणका नायब विकास आयुक्त नवराज प्याकुरेल, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीलगायतले आयोजनाबारे आआफ्नो धारणा राखेका थिए । -स्रोत भक्तपुर नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 June 2024
Website | + posts