काठमाडौँ, मंसिर १० । नेपाली चलचित्र दर्पण छाया बाट सर्वाधिक चर्चामा आएकी अभिनेत्री निरुता सिंहले आफूले अवार्ड नपाएको प्रसंग र त्यसबेला दर्शकबाट पाएको मायाबारे स्मरण गरेकी छन्।
चलचित्र दर्पण छाया प्रदर्शनमा आएपछि नेपाली चलचित्र क्षेत्रमा निकै लोकप्रिय बनेको थियो। फिल्मले व्यावसायिक सफलता हासिल गर्नुका साथै यसमा अभिनय गर्ने कलाकार तथा प्राविधिकहरूले विभिन्न विधामा अवार्डसमेत प्राप्त गरेका थिए। अभिनेता उत्तम प्रधान, दिलीप रायमाझी, निर्देशक तुलसी घिमिरेदेखि कोरियोग्राफरसम्मले लक्स फिल्म सिने अवार्ड प्राप्त गरेका थिए। तर, फिल्मकी मुख्य अभिनेत्री निरुता सिंह भने अवार्ड प्राप्त गर्ने सूचीमा परिनन्।
त्यतिबेला दर्पण छाया बाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड निरुताले प्राप्त गर्ने अपेक्षा गरिएको थियो। तर, अन्तिम नतिजामा मुस्कान चलचित्रबाट अभिनेत्री विपना थापा विजेता घोषित भइन्।
अवार्ड नपाएको विषयमा निरुतालाई भन्दा पनि निर्णय कसरी परिवर्तन भयो भन्ने कुराले आश्चर्य लागेको थियो। अवार्ड समारोहपछि जुरी सदस्यहरूमध्ये एक जना निरुताकहाँ आएर अघिल्लो साँझसम्म सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड उनलाई दिने निर्णय भएको तर रातारात निर्णय परिवर्तन भएको सुनाएका थिए।
निरुताले उक्त जुरी सदस्यको भनाइ स्मरण गर्दै, ‘हिजो बेलुकासम्म हामी जुरीहरूले तिमीलाई नै अवार्ड दिएका थियौँ, यो अवार्ड तिम्रो हो, तर रातारात चेन्ज भएछ,’ भनेको उल्लेख गरेकी छन्। ती जुरी सदस्यले अवार्ड वितरणमा धाँधली भएको भन्दै असन्तुष्टिसमेत व्यक्त गरेका थिए।
यद्यपि, निरुताले यस विषयलाई लिएर सार्वजनिक विवाद गरिनन्। न सञ्चारमाध्यममा गएर आफ्नो पक्ष राखिन्, न अवार्ड आयोजकसँग सार्वजनिक रूपमा जवाफ मागिन्। बरु दर्शकबाट प्राप्त मायालाई नै आफ्नो सबैभन्दा ठूलो सम्मान मानेर अघि बढिन्।
अवार्ड समारोहको भोलिपल्ट ट्याक्सीमा यात्रा गर्दा चालकले पनि निरुताले अवार्ड नपाएकोमा दुःख व्यक्त गरेका थिए। त्यसबेला चालकले व्यक्त गरेको भावनाले दर्शकको माया र कलाकारप्रतिको सम्मान कति गहिरो हुन्छ भन्ने अनुभूति गराएको निरुताले सम्झिएकी छन्।
‘मलाई त्यसमा खासै दुःख लागेन। मैले दर्शकबाट मायाको अवार्ड पाइसकेकी थिएँ। भोलिपल्ट ट्याक्सीमा चढ्दा ड्राइभर दाजुभाइहरूले पनि तपाईंले अवार्ड नपाउँदा नराम्रो लाग्यो भन्नुभयो। दर्शकले दिनुभएको त्यो मायाभन्दा ठूलो अवार्ड अर्को थिएन,’ निरुताले भनेकी छन्।
अवार्डभन्दा दर्शकको माया ठूलो भएको निरुताको उक्त स्मरणले कलाकारका लागि दर्शकको सम्मान, स्नेह र विश्वास नै सबैभन्दा मूल्यवान उपलब्धि हुने भावलाई उजागर गरेको छ।
Published Date: 26 November 2026