राष्ट्रियसभा निर्वाचनका लागि भोलि उम्मेदवारको मनोनयन दर्ता हुने

राष्ट्रियसभा निर्वाचनका लागि भोलि उम्मेदवारको मनोनयन दर्ता हुने : Icon Khabar

काठमाडौँ, पुस २२ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि भोलि उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

उम्मेदवारले सम्बन्धित प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सक्ने र यसका लागि आवश्यक सबै तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय सभाका एक तिहाइ सदस्यहरूको पदावधि आगामी फागुन २० गते सकिने र पद रिक्त हुनुभन्दा ३५ दिन पहिले नै निर्वाचन गरिसक्नु पर्ने कानूनी व्यवस्था छ । रिक्त हुने २० स्थान मध्ये १९ स्थानमा माघ ११ गते हुने निर्वाचनका लागि भोलि उम्मेदवारको मनोनयन दर्ता हुदैछ ।

राष्ट्रिय सभा सदस्य पदको लागि हुने निर्वाचनमा उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, नियमावली र निर्देशिका बमोजिम आवश्यक कागजात पेश गर्नुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

निर्वाचनमा प्रदेश सभा सदस्य र नगरपालिका एवं गाउँपालिका प्रमुख उपप्रमुख र अध्यक्ष उपाध्यक्ष सहितको निर्वाचक मण्डल मतदाता हुने छन्, प्रदेश सभा सदस्यको मतभार ५३ रहेको छ भने पालिकाका प्रमुख उप प्रमुखको मतभार १९ रहेको छ ।

मतभार कायम गर्दा पछिल्लो जनगणना अनुसारको कुल जनसङ्ख्यालाई आधार मानी मतभार कायम गर्नुपर्ने व्यवस्था अनुसार २०७८ को जनगणनाका आधारमा मतदाताको मतभार बढेको आयोगका प्रवक्ता पौडेलले बताए।

स्थायी सदनको रुपमा रहेको राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा ३ जना महिला, १ जना दलित र १ जना अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक सहित ८ जना गरी ५६ जना र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने १ महिला सहित ३ जना गरी ५९ जना सदस्य रहने र कार्यकाल ६ वर्ष हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 January 2024
Website | + posts