आईसीसी एकदिवसीय विश्वकपमा आज श्रीलङ्का र इङ्गल्यान्डबिच भिडन्त हुने

आईसीसी एकदिवसीय विश्वकपमा आज श्रीलङ्का र इङ्गल्यान्डबिच भिडन्त हुने : Icon Khabar

काठमाडौँ, कार्तिक ९ । आईसीसी एकदिवसीय विश्वकपको पाँचौँ चरणको अन्तिम खेल बिहीबार खेलिँदैछ । उक्त खेलमा एकदिवसीय विश्वकपको पूर्वविजेता श्रीलङ्का र इङ्गल्यान्डबिच भिडन्त हुनेछ । खेल बेंगलौरको एम। चिन्नस्वामी स्टेडियममा नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

सन् १९९६ को विजेता श्रीलङ्का र साबिक विजेता इङ्गल्यान्ड बिहीबार जारी विश्वकपमा आफ्नो अस्तित्व रक्षाका लागि भिड्ने छन् । किनभने जारी विश्वकपमा हालसम्म चार खेल खेलिसकेका यी दुवै टोलीले एक—एक जित मात्र हात पार्न सकेका छन् ।

यी दुवै टोली तीन—तीन खेलमा पराजित भइसकेका छन् । श्रीलङ्का दुई अङ्कसहित तालिकाको सातौँ र समान अङ्क बटुलेको इङ्गल्यान्ड नेट रन रेटमा पछि पर्दै आठौँ स्थानमा आसीन छन् । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने झिनो सम्भावना जीवित राख्न यी दुवै टोली बिहीबारको खेल जित्नै पर्ने दबाबमा छन् ।

जारी विश्वकपमा यी दुवै टोलीले आफ्ना समर्थकलाई निराश पारेका छन् । दुवै टोलीको ब्याटिङ र बलिङ निराशाजनक देखिएको छ । इङ्गल्यान्ड आफ्नो पहिलो खेलमा साबिक उपविजेता न्युजिल्यान्डसँग नौ विकेटले पराजित भएको थियो ।

आफ्नो दोस्रो खेलमा इङ्गल्यान्डले बङ्गलादेशलाई एक सय ३७ रनले हराएको थियो । इङ्गल्यान्डको टोली आफ्नो तेस्रो खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी अफगानिस्तानसँग ६९ रनले पराजित भएको थियो । चौथो खेलमा इङ्गल्यान्डले दक्षिण अफ्रिकासँग दुई सय २९ रनले पराजय भोगेको थियो ।

यसैगरी श्रीलङ्काले पनि जारी विश्वकपमा इङ्गल्यान्डकै जस्तो नियति भोगेको छ । श्रीलङ्काली टोली आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकासँग एक सय दुई रनले पराजित भएको थियो । दोस्रो खेलमा पनि श्रीलङ्काली टोली पाकिस्तानसँग ६ विकेटले हारेको थियो ।

आफ्नो तेस्रो खेलमा पनि श्रीलङ्काली टोली पाँच पटकको विजेता अस्ट्रेलियासँग पाँच विकेटले हार स्विकार्न बाध्य भएको थियो । आफ्नो चौथो खेलमा भने श्रीलङ्काली टोलीले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई पाँच विकेटले हराएको थियो । त्यसैले बिहीबारको खेल यी दुवै टोलीका लागि निकै महत्त्वपूर्ण छ । यो खेलमा पराजित हुने टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना लगभग समाप्त हुनेछ ।

Published Date: 26 October 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु