राष्ट्रिय सहकारी बैंकको लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी-२०८० भोलिबाट सुरू हुने

राष्ट्रिय सहकारी बैंकको लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी-२०८० भोलिबाट सुरू हुने : Icon Khabar

काठमाडौं, असोज २४ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा भोलि असोज २५ र पर्सि २६ गते लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी-२०८० हुने भएको छ।

“दिगो, पारदर्शी र जोखिम रहित सहकारीः लेखा सुपरीवेक्षण समितिको जिम्मेवारी” भन्ने थिमसहित काठमाडौंको याक एण्ड यती होटलमा सो गोष्ठी हुन लागेको हो।

गोष्ठिमा सहकारी संघ/संस्थाको लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरु, सहकारी र सहकारीका सरोकारवाला निकायहरुका प्रतिनिधिहरु र इच्छुक व्यक्ति तथा संघ/संस्थाका प्रतिनिधीहरू गरि ५ सय जना भन्दा बढीको सहभागिता रहने छ ।

सहकारी संघ/संस्थाहरुको आर्थिक अवस्था, संस्थागत विकास र सन्तुलित वित्तीय कारोबारमा लेखा सुपरीवेक्षण समितिको भूमिकालाई थप प्रभावकारी बनाउन सहयोग पुर्याउने उद्देश्यले गोष्ठी सञ्चालन गर्न लागेको बैंकका अध्यक्ष के.बी उप्रेतीले बताए ।

उनका अनुसार गोष्ठीमा लेखा सुपरीवेक्षण समितिले तयार गर्ने प्रतिवेदनको ढाँचा र प्रतिवेदनमा समावेश गर्ने विषयहरुमा छलफल हुनेछ । सहकारीमा स्वनियमन र संस्थागत सुशासन अभिवृद्धिका लागि लेखा सुपरीवेक्षण समितिको सक्रिय भूमिकाको बारेमा स्पष्ट मार्गदर्शन प्रदान गरि सहकारीमा जोखिम व्यवस्थापन र वित्तीय अनुशासनका लागि लेखा सुपरीवेक्षण समितिको स्पष्ट कार्यदिशा तय गर्न गोष्ठिले सहयोग पुग्ने अध्यक्ष उप्रेतीले बताए ।

बैंकले पहिलो पटक गर्न लागेको गोष्ठीमा सहकारी संघ/संस्थाहरुको आन्तरिक नियन्त्रणका लागि प्रभावकारी औजार तथा प्रणाली विकासका सम्बन्धमा बहस र छलफल हुने छ । दुई दिन सम्म सञ्चालन हुन गइरहेको राष्ट्रिय गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञहरुद्वारा ८ वटा विषयहरुमा कार्यपत्र प्रस्तुत हुने बैंकको लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीले बताए ।

गोष्ठीको पहिलो सत्रमा नेपालको सहकारीमा लेखा सुपरीवेक्षण समितिको अभ्यासः व्यवस्था र अवस्था विषयक कार्यपत्र प्रस्तुत हुनेछ । उक्त कार्यपत्र बैंकका लेखा समिति संयोजक लक्ष्मी उप्रेतीले प्रस्तुत गर्नेछन् । त्यस्तै दोस्रो सत्रमा वित्तीय सहकारीको जोखिम मापनः संरचना र पद्धति विषयक कार्यपत्र बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईंले प्रस्तुत गर्नेछन् ।

तेस्रो सत्रमा सहकारीको वित्तीय जोखिमः मापन र व्यवस्थापन रणनीति विषयमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत डा. नवराज सिंखडाले प्रस्तुत गर्नेछन् । पहिलो दिनको अन्तिम सत्रमा सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा सञ्चालन एवं अनुपालना जोखिमः मापन र व्यवस्थापन रणनीति विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

त्यस्तै दोस्रो दिनको पहिलो सत्रमा सहकारीको आन्तरिक नियन्त्रण प्रणालीः विकास र अभ्यास विषयमा नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्ता मणी शिवाकोटीले प्रस्तुत गर्नेछन् । दोस्रो सत्रमा राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बाले सहकारीको सुशासन र स्वनियमनः प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली विषयमा कार्यपत्र प्रस्तुत गर्नेछिन् भने सहकारीको आन्तरिक नियन्त्रण प्रणालीः विधि प्रविधि र औजार विषयमा एशियाली ऋण महासंघका प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराचीले प्रस्तुत गर्नेछन् ।

त्यस्तै गोष्ठीको अन्तिम कार्यपत्र सहकारी व्यवस्थापन समितिको कार्यालयका प्रमुख काशीराज दाहालले प्रस्तुत गर्नेछन् । उनले सहकारीको विद्यमान संकट सामनाः रणनीति र भावी कार्यदिशा विषयमा आफ्नो प्रस्तुती दिने कार्यक्रम तय भएको आयोजक बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 October 2023
Website | + posts


ताजा
फोनपेबाट हवाई टिकट बुक गर्दा ३०० रुपैयाँ क्यासब्याक, हरेक हप्ता ५ जनालाई स्मार्टवाच
देशको सार्वजनिक ऋण लगातार चुलिंदै, प्रति नेपाली ऋण हिस्सा ८६ हजार ७ सय रुपैयाँ
आईफोन १६ खरिद गर्न भारतका एप्पल स्टाेरमा भीड
जुम्लाको सिञ्जा गाउँपालिकाका ९६ दशमलव दुई प्रतिशत जनता साक्षर


ट्रेन्डिङ
सुनकोशीमा खसेको भक्तपुर आउंदै गरेको हाइलक्स गाडी बेपत्ता, भक्तपुरका ३ व्यक्ति अझै बेपत्ता
भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु
सुनकोशीमा खसेको गाडी भेटियो, भक्तपुरका ३ व्यक्ति भने अझै बेपत्ता
सिन्धुली दुर्घटना: सुनकोसीमा खसेको गाडी निकालियो, बेपत्ता तीन जनाको खोजी कार्य अहिले पनि जारी