भारतीय विपक्षी गठबन्धनले देशका केही टेलिभिजन पत्रकारलाई बहिष्कार गर्ने

भारतीय विपक्षी गठबन्धनले देशका केही टेलिभिजन पत्रकारलाई बहिष्कार गर्ने : Icon Khabar

काठमाडौँ, भदौ २९ । भारतीय विपक्षी गठबन्धन भारतीय राष्ट्रिय विकासवादी समावेशी गठबन्धन(इन्डिया) ले केही टेलिभिजन पत्रकारलाई बहिष्कार गर्ने भएको छ ।

बिहीबार विपक्षी गठबन्धनअन्तर्गतको सबैभन्दा ठूलो दल भारतीय कंग्रेसको सञ्चार तथा प्रचार विभागका प्रमुखसमेत रहेका नेता पवन खेराले एक सूची जारी गरेका हुन्, जसमा ‘आजतक’ च्यानलका सम्पादक सुधीर चौधरीदेखि रिपब्लिक टेलिभिजनका प्रधान सम्पादक अर्णव गोश्वामीसम्मका नाम रहेका छन् ।

बुधबार विपक्षी गठबन्धन इन्डियाको कोअर्डिनेसन कमिटीको बैठकले १४ जना पत्रकारको कार्यक्रममा आफ्ना नेता र प्रवक्तालाई नपठाउने निर्णय गरेको हो ।

केही कार्यक्रम र त्यसका सञ्चालक बहिष्कार गर्नुको कारण खुलाउँदै कंग्रेस नेता खेराले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, ‘हरेक दिन साँझ ५ बजेदेखि केही च्यानलमा घृणाको पसल सजाइन्छ । हामी घृणाको बजारको ग्राहक बन्ने छैनौँ । हाम्रो उद्धेश्य हो ‘घृणामुक्त भारत ।’ हामीले हृदय भारी बनाएर केही एंकरका कार्यक्रममा हामी सहभागी हुँदैनौँ ।’ नेता खेराले आफ्ना नेताहरूविरुद्ध अनर्गल टिप्पणी, झुटा समाचार प्रसारण भइरहे पनि आफूहरू त्यसविरुद्ध निरन्तर लड्ने बताएका छन् । उनले समाजमा घृणा फैलाउन नदिने प्रतिबद्धतासमेत जनाएका छन् ।

जम्मू-कश्मीर केही प्रहरी र सैनिक अधिकृतको आतंकवादी आक्रमणमा मृत्यु भए पनि चुप रहने पत्रकारहरू बहिष्कार सूचीमा रहेको कंग्रेसले जनाएको छ । सेना प्रहरी सहिद भएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्सव मनाएको पनि नेता खेराको आरोप छ । आफूहरूको सूचीमा परेका पत्रकार मोदीको इशारामा चल्ने दाबी गर्दै उनले लेखेका छन्, ‘यो पत्रकारको सूची होइन, यो त मोदीजीको ‘चरण चुम्बक’ भएकाहरूको सूची हो ।’

विपक्षी गठबन्धनले बहिष्कार गर्ने भनेको पत्रकारहरूको सूचीमा गोश्वामी र चौधरीसहित अदिति त्यागी, अमन चोपरा, अमिश देवगन, आनन्द नरसिंहा, अशोक श्रीवास्तव, चित्रा त्रिपाठी, गौरव सावन्त, नविका कुमार, प्राची पराशर, रुबिका लियाकत, शिव अरूर र सुशान्त सिन्हा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 September 2023
Website | + posts