दादुराका लक्षण देखिएमा हेलचेक्राई नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

दादुराका लक्षण देखिएमा हेलचेक्राई नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह : Icon Khabar

काठमाडौं, वैशाख २६ । सरकारले दादुराका लक्षण देखिएमा हेलचेक्राई नगर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकाल्दै हेलचेक्राई गरेमा अकालमै ज्यान जान सक्ने भएकाले हेलचेक्राई नगर्न आग्रह गरेको हो।

मन्त्रालयले दादुराका लक्षण देखिन साथ तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ। चिकित्सका अनुसार पछिल्लो समय दादुरा रोगको संक्रमण बढ्दै गरेकाले यस्तो आग्रह गरेको हो। उच्च ज्वरो आउनु, खोकी लाग्नु, आँखा रातो हुनु, शरीरमा राता मसिना बिमिरा देखिनु, खोकी लाग्नु,नाकबाट पानी बग्नु दादुराका प्रमुख लक्षण रहेका छन्।

दादुरा रोग लागेमा झाडापखाला लाग्ने, कुपोषण हुने, कान पाक्ने, श्वासप्रश्वासको कडा संक्रमण (निमोनिया) हुने, आँखामा समस्या भएर अन्धोपन हुने, मस्तिष्कमा कडा खालको सुजन हुने वा मस्तिष्क ज्वरो आउने, कम्पन हुने जस्ता जटिलताको कारण मृत्यु हुने चिकित्सक बताउछन्।

Published Date: 09 May 2023