काठमाडौं, कार्तिक १३ । राति अबेरसम्म खाना खाने वा सुत्नुअघि खाजा खाने बानीले कलेजोको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने एक अध्ययनले देखाएको छ। अमेरिकाको ओरेगन हेल्थ एन्ड साइन्स युनिभर्सिटी (ओएचएसयू) का अनुसन्धानकर्ताहरूले राति ढिलो खाना खाने मानिसमा कलेजोसम्बन्धी रोगको जोखिम तुलनात्मक रूपमा बढी हुने पत्ता लगाएका हुन्।
क्लिनिकल ग्यास्ट्रोएन्टेरोलोजी एन्ड हेपाटोलोजी जर्नलमा प्रकाशित अध्ययनअनुसार नियमित रूपमा बेलुकाको खाना खाइसकेपछि वा सुत्ने समय नजिकै खाने मानिसमा अन्यको तुलनामा कलेजोसम्बन्धी रोगको जोखिम २० देखि ३० प्रतिशतसम्म बढी देखिएको छ।
अध्ययनमा फ्याटी लिभर अर्थात् कलेजोमा बोसो जम्ने रोग र सिरोसिसजस्ता गम्भीर अवस्थालाई समेटिएको छ। सिरोसिसमा कलेजोका स्वस्थ तन्तु नष्ट हुँदै दागयुक्त तन्तु विकास हुने र कलेजोको कार्यक्षमतामा ह्रास आउने गर्छ।
झन्डै दुई लाख मानिसको तथ्याङ्क विश्लेषण
अनुसन्धानकर्ताहरूले अमेरिकामा सञ्चालन गरिएका तीन ठूला स्वास्थ्य अध्ययनका झन्डै दुई लाख सहभागीको तथ्याङ्क विश्लेषण गरेका थिए। यसमा नर्सेस हेल्थ स्टडी, नर्सेस हेल्थ स्टडी–२ र हेल्थ प्रोफेसनल्स फलोअप स्टडी समावेश थिए।
सहभागीले दिएको खानपान, दैनिक जीवनशैली र स्वास्थ्यसम्बन्धी विवरणका आधारमा उनीहरूको खाना खाने समय तथा कलेजोको स्वास्थ्यबीचको सम्बन्ध अध्ययन गरिएको थियो।
नतिजामा राति ढिलो खाना खाने मानिसमा कलेजोसम्बन्धी रोगको जोखिम २० देखि ३० प्रतिशतसम्म बढी देखिएको थियो। यसले खानाको प्रकार र मात्रासँगै खाना खाने समयले पनि दीर्घकालीन स्वास्थ्यमा प्रभाव पार्न सक्ने देखाएको छ।
अमेरिकाको कुल जनसङ्ख्याको करिब ३० प्रतिशतसम्ममा फ्याटी लिभरको समस्या रहेको अनुमान छ। कलेजोमा अत्यधिक बोसो जम्मा हुँदा सुरु हुने यो समस्याले कतिपय अवस्थामा सूजन, कलेजोमा क्षति र अन्ततः सिरोसिससम्म निम्त्याउन सक्छ।
शरीरको जैविक घडीसँग जोडिएको खाना खाने समय
अनुसन्धानकर्ताहरूका अनुसार राति ढिलो खाना खाँदा शरीरको प्राकृतिक जैविक घडी अर्थात् सर्काडियन रिदम प्रभावित हुन सक्छ। यसले निद्रा, पाचन तथा शरीरको मेटाबोलिजमलाई नियमन गर्छ।
कलेजो पनि शरीरको यही जैविक घडीसँग तालमेल मिलाएर काम गर्ने महत्त्वपूर्ण अङ्ग हो। यसले पोषक तत्त्व प्रशोधन गर्ने, रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने तथा शरीरमा ऊर्जा सञ्चय र उपयोग गर्ने प्रक्रियामा भूमिका खेल्छ।
शरीर सुत्ने तयारी गरिरहेको समयमा खाना खाँदा यी प्राकृतिक प्रक्रियामा बाधा पुग्न सक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ।
अध्ययनका प्रमुख लेखक तथा ओएचएसयूका कलेजो रोग विशेषज्ञ रोबर्ट विलेचान्स्कीका अनुसार राति ढिलो खाना खाने बानी र फ्याटी लिभरबीचको सम्बन्धबारे दीर्घकालीन रूपमा गरिएको यो महत्त्वपूर्ण अनुसन्धानमध्ये एक हो।
उनका अनुसार सुत्नुभन्दा केही घण्टाअघि नै क्यालोरीयुक्त खाना खाने क्रम समाप्त गर्नु स्वास्थ्यका लागि लाभदायक हुन सक्ने सम्भावना छ।
त्यस्तै, अध्ययनका सहलेखक तथा निद्रा र जैविक लयसम्बन्धी अनुसन्धानकर्ता एन्ड्रयु म्याकहिलले खाना, निद्रा र व्यायामजस्ता दैनिक गतिविधि कुन समयमा गरिन्छ भन्ने कुराले पनि स्वास्थ्यमा प्रभाव पार्ने बताएका छन्।
खाना खाने समय परिवर्तनले कलेजो स्वस्थ राख्न सक्छ?
अनुसन्धानकर्ताहरूले राति ढिलो खाना खाने बानी र कलेजोको रोगबीच सम्बन्ध देखिए पनि यसले रोगको प्रत्यक्ष कारण प्रमाणित नगरेको स्पष्ट पारेका छन्। अध्ययन अवलोकनमा आधारित भएकाले खाना खाने समय परिवर्तन गर्दा कलेजोको रोग रोक्न सकिन्छ वा सकिँदैन भन्ने निष्कर्ष निकाल्न थप अनुसन्धान आवश्यक छ।
यसै विषयमा अनुसन्धानकर्ताहरूले अहिले अर्को चिकित्सकीय अध्ययनमार्फत खाना खाने समय पहिले सार्दा फ्याटी लिभर भएका व्यक्तिको स्वास्थ्यमा कस्तो परिवर्तन आउँछ भन्ने परीक्षण गरिरहेका छन्।
यस अध्ययनले कलेजोको स्वास्थ्यका लागि खानपानको गुणस्तर र मात्रा मात्र नभई समय पनि महत्त्वपूर्ण हुन सक्ने तथ्यलाई उजागर गरेको छ। यद्यपि, कलेजो स्वस्थ राख्न खाना खाने समय परिवर्तनलाई प्रमाणित उपचारको विकल्पका रूपमा लिन नमिल्ने अनुसन्धानकर्ताहरूको भनाइ छ।