‘पर्वत पर्वतमा बटुवा घाम’ घाम बजारमा 

‘पर्वत पर्वतमा बटुवा घाम’ घाम बजारमा  : Icon Khabar

काठमाडौँ, वैशाख १५ । चर्चित कवि तथा प्रसिद्ध गीतकार रमेश क्षितिजको नयाँ कविता सङ्ग्रह ‘पर्वत पर्वतमा बटुवा घाम’ सार्वजनिक भएको छ ।
करिब डेढ दशकको अवधिमा कवि क्षितिजले सृजना गरेका ५३ वटा जीवनपरक दार्शनिक कविता सङ्ग्रहमा सङ्ग्रहण गरिएका छन् । ५ खण्डमा विभाजित सङ्ग्रहका कविताबारे कवि अविनाश श्रेष्ठ भन्छन्, “पूर्वीय दर्शनलाई सरल तरिकाले भन्दै काव्यिक संवेदनाको शील्पलाई सरल ढंगले यस सङ्ग्रहका कविताले भनेका छन् ।”

उनी भन्छन्, “प्रकृति, जीवन, जगत् र मानवीय संवेदनाका विम्बहरूलाई सरल र सहज भाषाशैलीमा प्रस्तुत गर्न सक्नु कवि क्षितिजको विशेषता हो । उनका कविता मन्त्र जस्तै छैनन्, जीवनमन्त्र नै हुन् ।”

२०५६ सालमा ‘अर्को साँझ पर्खेर साँझमा’ र २०६६ मा ‘घर फर्किरहेको मानिस’ कविता सङ्ग्रहबाट नेपाली कविता जगतलाई धनी बनाएका कवि क्षितिजको ‘आफैँ आफ्नो साथी भएँ’ गीत सङ्ग्रहका साथै दर्जनौं गीतहरू लोकप्रिय छन् ।

“रमेश क्षितिजका कविता हरेक कवि र कविताप्रेमीका लागि प्रतीक्षित रहन्छन् । यो सङ्ग्रह त उनका फरक विम्बका कविताको सङ्ग्रह हो । त्यसैले यो निकै सङ्ग्रहणीय र पठनीय छ । यसले नेपाली काव्य जगतमा आफ्नो गर्विलो इतिहास बनाउनेछ !”, प्रकाशक बुकहिलले प्रेस विज्ञप्तिमा भनेको छ ।

५३ कविताको हार्ड कभर संस्करणको मूल्य जम्मा ४५५/- रुपैयाँ रहेको छ । साथै, बुकहिलले उनको पहिलो कविता सङ्ग्रह ‘अर्को साँझ पर्खेर साँझमा’ को हार्ड कभर संस्करण पनि यही कविता सङ्ग्रहसँगै सार्वजनिक गरेको छ, जसको मूल्य ४५५/- राखिएको छ । कवि क्षितिजका कविताको अन्तरक्रिया र एकल वाचन केही दिनमै हुने पनि प्रकाशक बुकहिलले विज्ञप्तिमा उल्लेख गरेको छ ।

Published Date: 28 April 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु