सूर्योदय सेकेण्डरी स्कूलका प्रिन्सिपल विजय कर्माचार्यसँगको आइकन संवाद

सूर्योदय सेकेण्डरी स्कूलका प्रिन्सिपल विजय कर्माचार्यसँगको आइकन संवाद : Icon Khabar

भक्तपुर, चैत २७ । भक्तपुर नगरपालिकाको हनुमानघाट, खचामा अवस्थित सूर्योदय सेकेण्डरी स्कूलको आगामी नयाँ शैक्षिक सत्र २०८० को योजनाहरुका बारेमा सोहि विद्यालयका प्रिन्सिपल विजय कर्माचार्यसँग आइकन खबरले गरेको आइकन संवाद यहाँ प्रस्तुत छ।

१) सर्वप्रथम सूर्योदय सेकेण्डरी स्कुलको बारेमा जानकारी दिनुहोस् ।

सूर्योदय सेकेण्डरी स्कुल शैक्षिक उन्नयनमा समर्पित भएर लागेको शैक्षिक संस्थाको नाम हो । विद्यालयको स्थापना २०३७ सालमा भएको हो । तत्कालीन समयमा दिउँसो रोजगागरी गरी कमाउने मान्छे पनि शिक्षा आर्जनबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले विहान पढाइ हुने गर्थ्यो तर वि.स. २०५४ पश्चात अङ्ग्रेजी माध्यमबाट सर्वसुल्लभ शिक्षा दिनका लागि हामीले विद्यालयलाई समयसापेक्ष रुपमा अगाडि बढाउँदै ल्याएका छौँ ।

सूर्योदयले विगतमा एसएलसीको नतिजा अनुसार बोर्ड स्थान समेत हासिल गर्न सफल भएको छ भने थुप्रै डक्टर, इन्जिनियर, प्रशासक, शिक्षक लगायतको दक्ष जनशक्ति उत्पादन गरेर राष्ट्रलाई निरन्तर योगदान गर्दै अघि बढ्दै छौँ ।

२) यस विद्यालयले विद्यार्थीहरुको पठनपाठन अनि सर्वाङ्गिन विकासका लागि के कस्ता क्रियाकलापहरु गर्दै आएको छ ?

नानीवावुहरुको व्यक्तित्व र सर्वाङ्गीन विकासका निम्ति विद्यालयले योजना बनाएर अघि बढेको छ । खेलकुद, बौद्धिक विकास हुने खालका प्रतियोगिता तथा सोको तयारी, चित्रकला, नृत्य आदिको नियमित प्रशिक्षण भईरहेको छ भने विद्यार्थीहरुलाई नियमित रुपमा काउन्सेलिङ कक्षाहरु पनि नियमित रुपमा हुने गरेको छ । सूर्योदयले नानीवावुहरुको व्यक्तित्वको विकास तथा प्रतिभा प्रस्फुटनको कार्यलाई प्रमुख प्राथमिकतामा राखेको छ ।

३) यस स्कुललाई नै अभिभावक अनि विद्यार्थीले रोज्नुको पछाडिको कारणहरु के के रहेका छन् ?

सवैभन्दा ठूलो कुरा भनेको अभिभावकज्यूहरुको विश्वास र माया नै हो । सूर्योदय नै मेरा नानीवावुको निम्ति उपयुक्त गन्तव्य हो भन्ने सद्भाव नै स्कुललाई रोज्नुको प्रमुख आधार हो जस्तो लाग्छ । सूर्योदयको निरन्तरको उत्कृष्ट नतिजा, शुलभ शुल्क, विविध खालका कृृयाकलापहरु, शैक्षिक क्षेत्रमै जीवन समर्पित गरेका व्यक्तित्वहरुको व्यवस्थापन, मिहिनेती शिक्षकवर्ग नै सूर्योदय छनोटको प्रमुख कारणहरु हुनसक्छन् ।

४) नयाँ शैक्षिक सत्र २०८० का लागि के कस्ता योजनाहरु बनाउनु भएको छ ?

नयाँ शैक्षिक सत्र २०८० ले हामीमा थप उर्जा थपेको छ । हामी अझ बढि जिम्मेवार भएर विद्यालयले सञ्चालन गर्दै आएको विविध कार्यक्रमहरुलाई थप व्यवस्थित गरी सञ्चालन गर्न प्रतिबद्ध भएर लाग्छौँ । विद्यालयको समग्र शैक्षिक स्तरोन्नतिका लागि नवीन खाले विविध योजनाहरु निर्माण गरेका छौँ । भौतिक पूर्वाधारको सुधारका निम्ति पनि अग्रसर रहने छौँ ।

५) अहिलेको समयमा संस्थागत विद्यालयले भोग्दै आएका समस्या र चुनौतिहरु के के रहेका छन् ?

संस्थागत विद्यालयहरुले जुन किसिमको योगदान देशको शैक्षिक जगतमा गरेको छ वास्तवमा त्यो अतुलनीय छ । संस्थागत विद्यालयकै कारण देशको ठूलो धनराशी “गुणस्तरीय शिक्षा ” आर्जन गर्ने नाममा विदेशिनबाट जोगिएको छ, संस्थागत विद्यालयको नतिजालाई नजरअन्दाज गर्ने हो भने देशको शैक्षिक स्तर अत्यन्तै दयनीय अवस्थामा रहेको छ ।

अधिकाशं संस्थागत विद्यालयहरुले राज्यले प्रति विद्यार्थीलाई लगानी गरेको औसत खर्चभन्दा पनि कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । देशको ४० लाखभन्दा बढि विद्यार्थीहरुको दायित्व निजि तथा संस्थागत विद्यालयहरुले बोक्दै आएको छ तर राज्यबाट संस्थागत विद्यालयहरुलाई गरिने व्यवहार अन्यायपूर्ण र विभेदपूर्ण छ । संस्थागत विद्यालयहरु बन्द हुने अवस्थामा सरकारसंग ती ४० लाख विद्यार्थीहरु पढाउने न त तयारी छ, न क्षमता । राज्यबाट निजि तथा संस्थागत विद्यालयहरुको योगदानको कुनै कदर भएको छैन ।

६) यसको समाधानका लागि विद्यालय पक्ष र स्थानिय सरकारको भूमिका के हुनसक्छ ?

सरकार सवैको हो । संस्थागत विद्यालयमा अध्ययन गर्ने नानीवावुहरु पनि देशकै नागरिकहरु हुन् । संस्थागत विद्यालयहरुले प्रत्यक्ष रुपमा १० लाखभन्दा बढिलाई रोजगारी प्रदान गरेको छ भने अप्रत्यक्ष रुपमा कतिवटा रोजगारीको अवसर सिर्जना भएको होला, उद्योग चलेको होला हामी अनुमान गरौँ ।

सोको कदर गरियोस्, नियमन पनि गरिनुपर्छ, गलत गर्नेलाई कारवाहि पनि आवश्यक छ तर सवै संस्थागत विद्यालयहरुलाई एउटै चश्मा लगाएर हेर्न मिल्दैन । मिल्ने कुराहरुमा सहुलियत र सुविधा दिने नीति अपनाइनुपर्छ जसले गर्दा शुल्क धेरै बढ्दैन । संस्थागत विद्यालयहरुलाई पनि राज्यस्तरबाट दिइने सुविधा, तालिम, प्रशिक्षणहरुमा सहभागी गराइनुपर्छ साथै नीतिनियमहरु बनाउँदा सरोकारवाला सवै पक्षको अपनत्व हुन पनि जरुरी देखिन्छ ।

७) तपाईको विद्यालयमा अध्ययनरत र नयाँभर्ना भएका विद्यार्थी वर्गलाई कसरी मार्गनिर्देशन गर्नुहुन्छ ?

नानीवावुहरुका निम्ति शिक्षक विद्यालयका अभिभावक हुनुपर्छ भने अभिभावक घरका शिक्षक तसर्थ सूर्योदयमा अध्ययन गर्ने सवै नानीवावुहरुको म अभिभावक पनि हुँ । नानीवावुहरुको प्रगति र उन्नतिका निम्ति सदैव प्रतिवद्ध रही शिक्षक र अभिभावक दुवैको रुपमा निरन्तर अघि बढ्नेछु ।

८) अन्तिममा तपाईका अभिभावक अनि विद्यार्थी साथै शुभचिन्तकहरु प्रति सन्देश के रहेको छ ?

शिक्षक, अभिभावक, विद्यार्थी तीनै पक्षको आवश्यक समन्वय, सहकार्य र विश्वासले मात्र कुनै पनि विद्यालय सफल बन्दछ । यसर्थ हामीवीच रहि आएको सम्वन्ध अझ प्रगाढ र मजबुत बनाउनुपर्छ । अन्त्यमा, नयाँ वर्ष २०८० तथा विस्का: जात्राको अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा शुभचिन्तकहरुको सुख, शान्ति, सुस्वास्थय तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0
Published Date: 10 April 2023
Website | + posts