कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात

कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात : Icon Khabar

सुर्खेत, कार्तिक १४ । कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात भएपछि त्यस क्षेत्रका प्रहरी चौकी सदरमुकाम सार्न थालिएको छ । प्रदेशका तीन हिमाली जिल्लाका ८ वटा प्रहरी चौकी सदरमुकाम सार्न थालिएको हो ।

प्रदेशका हिमाली क्षेत्रमा भारी हिमपात भएपछि अत्यधिक चिसो बढेको छ । हिउँ पर्न सुरु भएपछि प्रहरी चौकी सदरमुकाम स्थानान्तरण गर्न थालिएको प्रदेश प्रहरी प्रमुख डिआइजी माधव श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार डोल्पाका ६, हुम्ला र मुगुको एक/एक वटा प्रहरी चौकी सार्न थालिएको छ । ‘हिमपात र चिसो बढेपछि त्यहाँका स्थानीयहरू पनि सदरमुकाम झर्ने गरेका छन्’ डिआइजी श्रेष्ठले अनलाइनखबरसँग भने, ‘स्थानीय तहको समन्वय र जिल्ला सुरक्षा समितिको सिफारिस अनुसार प्रहरी चौकी स्थानान्तरण गरिएको छ ।’

प्रदेशका ८ वटा प्रहरी चौकी स्थानान्तरण गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालयबाट समेत अनुमति लिइएको डीआईजी श्रेष्ठले बताए । हिमापात रोकियो र स्थानीयहरू गाउँ फर्किन थाले पछि जति बेला पनि ती चौकीहरू फर्काउन सकिने प्रदेश प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरीका अनुसार हुम्लाको नाम्खा–६ का तिल, हल्जी र जाङको सुरक्षामा खटिएको प्रहरी टोली सिमकोट आइपुगेको छ । यस्तै उपल्लो डोल्पाका ६ वटा प्रहरी चौकी पनि सदरमुकाम दुनैमा सार्न सुरु गरिएको छ ।

माथिल्लो डोल्पाको डोल्पोबुद्ध, छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिका क्षेत्रमा रहेका प्रहरीहरु सदरमुकाम झर्ने काम भइरहेको छ । माथिल्लो डोल्पामा रहेका इलाका प्रहरी कार्यालय नाम्दो, तिन्जे, भिजेर, धो, बेश टास्की र राप प्रहरी चौकी दुनैमा सारिएको छ । त्यस्तै मुगुको इलाका प्रहरी कार्यालय मुगुमलाई सदरमुकाम सारिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

हिउँदमा हिमपात र चिसोले ज्यानकै जोखिम हुने भएकाले उच्च हिमाली क्षेत्रमा राखिएका चौकीलाई सुरक्षित र पायक पर्ने प्रहरी कार्यालयमा सार्ने गरिएको छ । हिमाली गाउँहरूमा मानिसहरूको आवतजावत नै रोकिने भएपछि प्रहरी चौकीमा रासन पानीको व्यवस्था गर्नसमेत कठिन हुने गरेको डिआइजी श्रेष्ठले बताए ।

‘ती चौकीहरूमा आवश्यक परेको खण्डमा जति बेला पनि खटाउन सकिन्छ । तर आवश्यक छैन भने अब एकै पटक वैशाख, जेठतिर फर्किन्छन्,’उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 October 2025
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने