सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गर्ने

सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गर्ने : Icon Khabar

काठमाडौँ, कात्तिक १२ । सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गर्ने भएको छ । विभिन्न ऐनमार्फत सञ्चालन हुँदै आएका ती संस्थानलाई कम्पनीसम्बन्धी एउटै ऐनमार्फत सीमित दायित्वका कम्पनीमा परिणत गर्ने नीति सरकारले अख्तियार गरेको हो । सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२ जारी गर्दै सरकारले सञ्चालनमा रहेका सबै सार्वजनिक संस्थानलाई क्रमशः कम्पनीमा परिणत गर्ने नीति लिएको हो ।

मन्त्रीपरिषद्बाट गत असोज १३ गते स्वीकृत भई हालै मात्र सार्वजनिक गरिएको उक्त नीतिले त्यसका लागि कानुनी आधार परिवर्तन गर्ने रणनीति लिएको छ । “सार्वजनिक संस्थान स्थापनाको कानुनी आधार परिवर्तन गर्दै सबै सार्वजनिक संस्थानलाई क्रमशः कम्पनीमा परिणत गरिने छ,” नीतिमा उल्लेख छ । नीति अनुकूल हुने गरी संस्थानको गठन आदेश, प्रबन्धपत्र तथा नियमावलीमा संशोधनमार्फत कम्पनीमा लैजाने सरकारको नीति छ । विभिन्न कानुनद्वारा स्थापित संस्थानलाई कम्पनी ऐन, २०६३ बमोजिम कम्पनीमा परिणत गर्ने प्रक्रिया अघि बढाउने सरकारको योजना छ । यसको कार्यान्वयन आगामी आर्थिक वर्षदेखि सुरु गर्ने कार्ययोजना बनाइएको छ ।

अहिले कायम रहेका सार्वजनिक संस्थानमध्ये ३४ वटा कम्पनी ऐन अनुसार स्थापित भए पनि आठ वटा विशेष ऐन अन्तर्गत, एउटा सञ्चार संस्थान ऐन अनुसार, एउटा सहकारी ऐन अनुसार र एउटा संस्थान ऐन अनुसार सञ्चालनमा छन् । कम्पनी ऐनभन्दा अलग कानुनबाट सञ्चालन भइरहेका संस्थानलाई पनि सरकारले सोही ऐन अन्तर्गत सञ्चालन गर्ने नीति अघि सारेको हो ।

सार्वजनिक संस्थानमा सरकारको बढ्दो दायित्व कम गर्ने र अर्थतन्त्रमा योगदान बढाउने उद्देश्यसहित सरकारले नीतिमार्फत संस्थानको संरचना, प्रमुख नियुक्तिका स्पष्ट मापदण्ड, सञ्चालक समितिको पुनर्संरचनामा परिवर्तनको रणनीति लिएको छ । यसका लागि सरकारले सार्वजनिक संस्थानको नियमनकारी तथा सञ्चालनसम्बन्धी कार्य अलग अलग गर्ने भएको छ । कतिपय सार्वजनिक संस्थानमा नियामक र सेवाप्रदायक एकै हुँदा सेवाको गुणस्तर सम्बन्धमा प्रश्न उठ्दै आएको छ ।

नीतिमा सार्वजनिक संस्थानलाई व्यावसायिक र रणनीतिक गरी दुई समूहमा वर्गीकरण गर्ने उल्लेख छ । हाल सरकारले औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगी र वित्तीय क्षेत्र गरी छ क्षेत्रमा वर्गीकरण गरेको छ । नयाँ वर्गीकरण अनुसार निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नुपर्ने सार्वजनिक संस्थान व्यावसायिक संस्थान हुने छन् । यस्ता संस्थानको खरिद प्रक्रिया सरल बनाइने सरकारको नीति छ ।

सार्वजनिक संस्थानको सम्पूर्ण कार्यप्रणालीलाई व्यावसायिक बनाइने र सञ्चालक समितिलाई आन्तरिक कार्य सञ्चालनमा स्वायत्त बनाइने नीति पनि सरकारले लिएको छ । सञ्चालक समितिमा सेयर स्वामित्वका आधारमा प्रतिनिधित्व हुने व्यवस्था मिलाउने र त्यसका यसका लागि कानुनमा सुधार गर्ने नीति लिइएको छ ।

सरकारले यो नीतिमार्फत सञ्चालक समिति र व्यवस्थापनलाई संस्थान सञ्चालनका लागि पूर्ण जिम्मेवार बनाउने रणनीति लएको छ । सरकारले निर्देशन दिनेबाहेक संस्थानको दैनिक कार्यमा हस्तक्षेप नगर्ने व्यवस्था मिलाइने भएको छ ।

नीतिमार्फत सञ्चालक समितिको बैठकलाई थप व्यवस्थित गरिएको छ, जस अनुसार सञ्चालक समितिको बैठक वर्षमा कम्तीमा छ पटक बस्नुपर्ने र दुई बैठकबिच अधिकतम दुई महिनाभन्दा बढीको अन्तराल नहुने सुनिश्चित गरिने भएको छ । प्रत्येक सञ्चालकले एक आवमा कम्तीमा ७५ प्रतिशत बैठकमा उपस्थिति जनाउनुपर्ने प्रावधान पनि नीतिले गरेको छ । सञ्चालक समितिको पनि आचारसंहिता तयार गरिने नीतिमा उल्लेख छ । सञ्चालक समितिमा महिलाको प्रतिनिधित्वलाई पनि नीतिले अनिवार्य गरेको छ ।

नीतिमा संस्थानको आर्थिक कारोबारलाई पूर्ण विद्युतीय बनाउने र संस्थानमा रहेको सरकारको सेयरलाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको नाममा डिम्याट गरिने भएको छ ।

सार्वजनिक संस्थानको व्यवसायलाई सरल बनाउन अनावश्यक र समयसापेक्ष नरहेका प्रक्रिया हटाइने भएको छ । यस्तो प्रक्रिया सुधारका लागि प्रत्येक संस्थानमा स्थायी संस्थागत संरचना तयार गरिने भएको छ । त्यस्तै स्वार्थको द्वन्द्व नहुने गरी संस्थानको कार्यक्षेत्र र उद्देश्यमा निजी क्षेत्रको प्रतिनिधित्व गराउने व्यवस्था गरिने भएको छ ।

नीतिले सार्वजनिक संस्थानमा नेपाल वित्तीय प्रतिवेदन मानक लागु गर्ने विषयलाई पनि अनिवार्य गरेको छ । त्यस्तै सार्वजनिक संस्थानमा कर्मचारीका लागि मासिक तथा वार्षिक लक्ष्य तोकिने, कर्मचारीको वस्तुपरक आधारमा मूल्याङ्कन गर्न सकिने कार्य विवरण पनि तयार गरिने, सार्वजनिक संस्थानमा पनि निवृत्तिभरण र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गरिने नीति सरकारले लिएको छ । यसको कार्यान्वयन आगामी माघदेखि सुरु हुने भएको छ ।

संस्थानमा अनुसन्धान तथा विकास एकाइ स्थापना गर्ने र त्यसका लागि वार्षिक बजेटको अंश छ्टयाउनु पर्ने व्यवस्था नीतिले गरेको छ ।

यस नीतिको कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा संस्थान समन्वय हेर्ने सचिवको संयोजकत्वमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, अर्थ मन्त्रालय र संस्थानसँग सम्बन्धित सहसचिवहरू र संस्थानको कार्यकारी प्रमुख सदस्य रहने कार्यान्वयन समिति हुने छ । जसले सरकारी लगानी व्यवस्थापनसम्बन्धी निर्णयको व्यवस्थित कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन गर्ने छ ।

त्यस्तै अर्थ मन्त्रालयको संस्थान समन्वय हेर्ने सहसचिवको संयोजकत्वमा सरकारी लगानी व्यवस्थापन एकाइले काम गर्ने भएको छ । नीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले कामको बाँडफाँट, जिम्मेवार निकाय र सहयोगी निकायसहित समयसीमा पनि तोकेको छ ।

आव २०८०/८१ सम्म सरकारले सार्वजनिक संस्थानमा कुल सात खर्ब तीन अर्ब ९३ करोड रुपियाँ लगानी गरेको छ । कुल लगानीमध्ये तीन खर्ब ६४ अर्ब ८६ करोड रुपियाँ सरकारको सेयर लगानी रहेको छ भने तीन खर्ब ३९ अर्ब सात करोड रुपियाँ ऋण लगानी रहेको छ । यति ठुलो लगानी हुँदा पनि सरकारले प्राप्त गर्ने लाभांश भने अत्यन्त कम छ ।

सो आवमा सरकारले कुल लगानीको २.४ प्रतिशत अर्थात् आठ अर्ब ८३ करोड रुपियाँ मात्र लाभांश प्राप्त गरेको छ । हाल कायम सार्वजनिक संस्थानमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका र २५ वटामा सरकारको अधिकांश स्वामित्वका छन् । सञ्चालनमा रहेका संस्थानमध्ये २८ वटाले नाफा आर्जन गरेका छन् भने १५ वटा घाटामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 October 2025
Website | + posts




ताजा
राष्ट्रपति कार्यालयबाट दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा क्षमा पूजा
प्रधानमन्त्रीको आह्वानमा आज हुने त्रिपक्षीय छलफलमा जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने
सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गर्ने
चिसो अझै बढ्ने, भारी हिमपातको जोखिम


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने