फ्रान्समा नयाँ पेन्सन योजना विरुद्ध लाखौँ मानिस सडकमा

फ्रान्समा नयाँ पेन्सन योजना विरुद्ध लाखौँ मानिस सडकमा : Icon Khabar

फ्रान्स, चैत १० । पेन्सन पाउने उमेर बढाउने योजनालाई लिएर फ्रान्सेली आन्दोलन जारी रहँदा बोर्डो टाउन हलमा आगो लागेको छ। बिहीवार फ्रान्सभरि १० लाखभन्दा बढी मानिस सडकमा उत्रिएका थिए जसमध्ये एक लाख १९ हजार मानिस प्यारिसमा रहेको आन्तरिक मन्त्रालयको तथ्याङ्क छ।

फ्रान्समा नयाँ पेन्सन योजना विरुद्ध लाखौँ मानिस सडकमा उत्रिएको हो। त्यहाँ प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार गरेको थियो। प्रदर्शनको क्रममा देशभरबाट ८० जना पक्राउ परेका छन्।

सेवा निवृत्तिको उमेर दुई वर्ष बढाएर ६४ वर्ष पुर्‍याउने कानुनविरुद्ध प्रदर्शन सुरु भएको हो। एक दिनको विरोध र झडपपछि बिहीवार साँझ दक्षिण पश्चिमी सहर बोर्डोको टाउन हलको मूल ढोकामा आगो लागेको थियो।

दमकलको सहायतामा आगो तत्काल निभाइएको थियो। यद्यपि, कसका कारण आगो लाग्यो भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन।

प्यारिसमा सामान्यतया शान्तिपूर्ण प्रदर्शनहरू हुँदा पसल तथा सडकका सामग्रीहरू तोडफोड हुने तथा प्रदर्शनकारी र प्रहरीहरू बीच झडप हुने गरेको रोएटर्स समाचार संस्थाले जनाएको छ।

दङ्गाको क्रममा बेहोस भएका एक प्रहरी अधिकारीलाई उनकै सहकर्मी अधिकारीहरूले सुरक्षित स्थानमा पुर्‍याएका थिए। प्रहरीले अश्रु ग्यास प्रयोग गर्दा उनीहरूमाथि वस्तु तथा पटका प्रहार भएको र त्यस्तो घटनामा संलग्न ३३ जना राजधानीबाट पक्राउ परेको एएफपी समाचार संस्थाले उल्लेख गरेको छ।

“म पेन्सनबारे कानूनी परिवर्तनको विरोध गर्छु र प्रजातन्त्रको अब कुनै अर्थ रहँदैन भन्ने कुरामा विश्वास गर्दिन,” एक प्रदर्शनकारीले रोएटर्ससँग भने। “जनताको प्रतिनिधित्व भएको छैन। त्यसैले हामी थाकेका छौँ।”

“हामीसँग अन्य तरिकाले कानुनमा भएको परिवर्तन सुधार्ने छुट छैन। यसरी विरोध गरेपछि नै हाम्रो आवाज सुनिनेछ,” अर्का एक प्रदर्शनकारीले एएफपी समाचार संस्थालाई भने।

विरोध प्रदर्शनका कारण रेल सेवा, तेल प्रशोधन केन्द्रहरू पनि अवरुद्ध भएका थिए। त्यस्तै प्यारिसको एक विमानस्थलका कर्मचारीहरू र शिक्षकहरू पनि आफ्नो काम छोडेर निस्किएका थिए। प्रत्यक्षदर्शीहरूका अनुसार प्रदर्शनकारीहरूलाई हटाउन प्रहरीले प्रहार गरेको ‘फ्ल्यास-बल’ भनिने ग्रिनेडका कारण उनले औँला गुमाएकी हुन्।

फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले यसलाई पारित गर्नु महत्त्वपूर्ण ठानेका छन्। प्रधानमन्त्री एलिजाबेथ बोर्नले भने भविष्यमा आर्थिक समस्याबाट जोगिन यस्ता परिवर्तनहरू आवश्यक भएको बताएका छन्। – बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 March 2023
Website | + posts