काठमाडौं, मंसिर १ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा आज (मंगलबार) फाइनल प्रवेशका लागि दुई बलिया टोली लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच रोमाञ्चक भिडन्त हुँदैछ। साविक विजेता लुम्बिनी र लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेका सुदूरपश्चिमबीचको यो प्रतिस्पर्धालाई उपाधि यात्राको निर्णायक मोडका रूपमा हेरिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ४ः३० बजे फ्लडलाइटमा सुरु हुने पहिलो क्वालिफायरमा दुवै टोली जित निकाल्दै सिधै फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रनेछन्।
लिग चरणमा शीर्ष दुई स्थान हासिल गरेका यी टोलीका लागि पहिलो प्रयासमै फाइनल पुग्ने सुनौलो अवसर रहेको छ। त्यसैले आजको खेलमा जित हात पार्ने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने स्थान पक्का गर्नेछ भने हार्ने टोलीको फाइनल यात्रा भने पूर्ण रूपमा समाप्त हुने छैन।
पहिलो क्वालिफायरमा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछ। उसले इलिमिनेटरमा विजयी हुने टोलीसँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ। यसरी पहिलो क्वालिफायरको नतिजाले एक टोलीलाई सिधै फाइनल पुर्याउनेछ भने अर्को टोलीलाई अन्तिम अवसरका लागि पुनः मैदानमा उत्रिनुपर्नेछ।
Published Date: 17 November 2026