वर्तमानमा होटलहरु सञ्चालनमा रहेता पनि चालू खर्च धान्ने समेतको आय हुन नसक्दा घाटामा सञ्चालित छन् । धेरै नयाँ होटलहरुको बजार प्रवेशबाट माग भन्दा आपूर्ति कयौ गुणाले बढिरहेको हुँदा होटलको कारोबारको मूल्य घटाउन ठूलो चाप परेको छ । राष्ट्रिय वार्षिक बजेटभन्दा बढी परिमाणको लगानी भइसकेको नेपाली होटल क्षेत्रलाई नेपाल सरकारले हालसम्म पनि उद्योग सरहको मान्यता समेत नदिनु अत्यन्त खेदजनक रहेको संघले बताएको छ।
नेपाल सरकार,नेपाल राष्ट्र बैंक तथा सम्वद्ध बैंक एवं वित्तीय संस्थाहरुबाट नेपाली होटल क्षेत्रलाई कठिन आर्थिक चक्रव्यूबाट बचाई पुनर्जिवन प्रदान गर्न ऋणको साँवा व्याज भुक्तानीको भाका व्यवहारिक ढंगमा बढाउने लगायत कर्जा पुनर्संरचना,पुनर्तालिकीकरण नितान्त आवश्यक रहेको तथा बढ्दै गएको व्याजदर एकल अंकमा झार्न होटल संघले माग गरेको छ।
नेपाल सरकार, नेपाल राष्ट्र बैंक, सम्वद्ध बैंक तथा वित्तीय निकायहरुले हालकै रवैया कायम राखी समस्या समाधानमा पहल नहुने हो भने नेपाली होटल व्यवसाय क्रमिकरुपमा धरासायी हुने निश्चित रहेको समेत संघले प्रष्ट पारेको छ। सो अवस्थामा होटल संघ नेपालले सदस्य होटलहरुको हकहित संरक्षणमा व्यवसाय बन्द गर्ने समेतको विकल्पमा पहल गर्नुपर्ने बाध्यकारी परिस्थिति सिर्जना हुन सक्ने जनाएको छ।