काठमाडौं, फागुन १४ । बालयौन दुराचारको मुद्दामा अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ। उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले नायक शाहलाई सफाइ दिएको हो।
नवलपुर अदालतले बालयौन दुराचारको मुद्दामा शाहलाई साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो। शाहले उक्त फैसला विरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए।
उच्च अदालतको आजको इजलासले उक्त मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गरेको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए।
उच्च अदालत पोखराले सफाइ दिएपछि अभिनेता शाह अब कारागार मुक्त हुने उनका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए। “शाहले मुद्दा जित्नुभएको छ, उहाँ भोलि रिहा हुनुहुन्छ”, वाग्लेले भने।
Published Date: 26 February 2023