काठमाडौं चैत २ । दिक्षा (गौरी) हाडा स्मृति प्रतिष्ठान नेपालको बोर्ड बैठकको निर्णयअनुसार यस वर्ष २०८२ सालदेखि इन्जिनियरिङ अध्ययन संस्थान थापाथली क्याम्पसमा ‘दिक्षा (गौरी) हाडा स्मृति पुरस्कार’ स्थापना गरिएको छ।
क्याम्पसको ६०औँ वार्षिक उत्सवको अवसरमा शुक्रबार (फागुन २९) आयोजित कार्यक्रममा आर्किटेक्चर स्नातक तह २०७६ ब्याचबाट उत्कृष्ट नतिजा ल्याएर अध्ययन पूरा गरेकी सजल महर्जनलाई कदरपत्रसहित २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको हो।
उक्त पुरस्कार त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्याल र प्रतिष्ठानका कोषाध्यक्ष विनयराम माथेमाले प्रदान गरेका थिए।
प्रतिष्ठानका अनुसार ख्वप इन्जिनियरिङ कलेजमा आर्किटेक्चर स्नातक विषयमा पहिलो वर्ष अध्ययन गरेकी दिक्षा हाडाले पहिलो सेमेस्टरमा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भए पनि बाँकी अध्ययन अगाडि बढाउन सकेकी थिइनन्। सोही स्मृतिमा आर्किटेक्चर स्नातक तहबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई यो पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको हो।
कार्यक्रममा प्रतिष्ठानका सचिव लक्ष्मण पलिखेलले पुरस्कृत सजल महर्जनलाई बधाई दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि उपकुलपति प्रा.डा. अर्याल र क्याम्पस प्रमुख डा. खेम ज्ञवालीले पुरस्कार स्थापना गरी अध्ययनरत विद्यार्थीलाई राम्रो नतिजा ल्याउन उत्प्रेरित गरेको भन्दै प्रतिष्ठानलाई धन्यवादसहित कदरपत्र प्रदान गरेका थिए।
Published Date: 16 March 2026