भक्तपुर, फागुन ३० । भक्तपुरको सूर्यविनायक क्षेत्रमा अवस्थित बुकाचो गढी पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ। अरनिको राजमार्गको जगातीबाट करिब सात किलोमिटर दूरीमा रहेको यो स्थान समुद्री सतहबाट करिब दुई हजार एक सय मिटर उचाइमा अवस्थित छ।
बुकाचो गढीबाट काठमाडौं उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। यहाँबाट हरियाली जंगलको दृश्यावलोकन गर्नुका साथै विभिन्न वन्यजन्तु तथा चराहरूको अवलोकन पनि गर्न सकिन्छ। मौसम अनुकूल हुँदा माछापुच्छ्रे, गणेश, गौरीशंकर र सगरमाथालगायतका हिमालहरू पनि यहाँबाट स्पष्ट देख्न सकिन्छ।
भक्तपुरका धार्मिक स्थल डोलेश्वर महादेव तथा आशापुरी मन्दिर दर्शनका लागि जाने क्रममा पनि पर्यटक तथा भक्तजनहरू बुकाचो गढी पुग्ने गरेका छन्।
यसैबीच गढी क्षेत्रमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको सालिक निर्माण गरिएको छ। पृथ्वीनारायण शाहले बुकाचो गढी क्षेत्रमा बङ्कर बनाएर बसेको ऐतिहासिक स्थानमा सालिक निर्माण गरिएको हो। यहाँ शाहको करिब छ फिट उचाइको पित्तलबाट निर्मित सालिक स्थापना गरिएको छ। साथै बङ्कर क्षेत्रमा दुई कोठासहितको भवन, कम्पाउन्डलगायतका संरचना पनि निर्माण गरिएको छ।
बुकाचो गढी सूर्यविनायक क्षेत्रकै नयाँ पर्यटकीय स्थलका रूपमा विकास भइरहेको छ। नगरपालिकाले यस क्षेत्रमा पिकनिक स्थल, शौचालय, पानी ट्याङ्की निर्माण गरिसकेको छ भने भ्यू टावर पनि निर्माण गरिएको छ।
भ्यू टावर निर्माणपछि हिमाली दृश्यसँगै उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न तथा ऐतिहासिक गढी अवलोकन गर्न काठमाडौं उपत्यकालगायत विभिन्न स्थानबाट आन्तरिक तथा बाह्य पर्यटकहरू आउने क्रम बढ्दै गएको छ।
Published Date: 14 March 2026