भक्तपुर, फागुन ४ । जिल्ला प्रहरी परिसर भक्तपुरले माघ महिनामा कुल १५२ वटा मुद्दा दर्ता भएको जनाएको छ। सार्वजनिक गरिएको प्रगति विवरणअनुसार जघन्य तथा गम्भीर अपराध अन्तर्गत २ वटा कर्तव्य ज्यान र ८ वटा लागूऔषधसम्बन्धी गरी १० मुद्दा दर्ता भएका छन्। आर्थिक अपराधतर्फ बैंकिङ कसुरका ६२, ठगीका ७, चोरीका १६ र जुवाका १ गरी ८६ मुद्दा दर्ता भएका छन्। चालु मुद्दामा ११० जना प्रतिवादी पक्राउ परेका छन् भने फैसला कार्यान्वयनतर्फ ३२ जनालाई पक्राउ गरी रु. ६७ लाख ४७ हजार ८० रुपैयाँ जरिवाना असुल तथा २ वर्ष ९ महिना १ दिन कैद सजाय कार्यान्वयन गरिएको प्रहरीले जनाएको छ।
लागूऔषधतर्फ ८ मुद्दामा १० जना पक्राउ परेका छन्। विभिन्न प्रकारका लागूऔषध ट्याब्लेट, क्याप्सुल तथा ११६ ग्राम पदार्थ बरामद गरिएको उल्लेख छ। आत्महत्यातर्फ २ वटा झुण्डी मृत्युका घटना दर्ता भएका छन्।
माघ महिनामा भएका दुई कर्तव्य ज्यानका घटनामध्ये एक घटनामा श्रीमतीको हत्या अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् भने अर्को घटनामा आफ्नै आमाको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी ३६ उजुरीमध्ये २६ वटा मिलापत्र गराइएको र १० वटा बाँकी रहेको प्रहरीले जनाएको छ।
सवारी दुर्घटनातर्फ माघ महिनामा २२७ दुर्घटना हुँदा ५ जनाको मृत्यु र १५५ जना घाइते भएका छन्। ३४० सवारी साधन संलग्न रहेका ती दुर्घटनामध्ये लापरवाहीपूर्वक सवारी चलाउनु (११५) र चालकको ध्यान सडकमा नहुनु (८५) मुख्य कारणका रूपमा देखिएको छ। दुर्घटनामा १०० जनाको प्रहरीले उद्धार गरेको जनाएको छ। ट्राफिक चेकिङका क्रममा १ हजार ६०७ सवारी कारबाहीमा परेका छन् भने रु. ११ लाख ४४ हजार २०० राजस्व संकलन भएको छ।
विपद् व्यवस्थापनतर्फ ४ वटा आगलागीका घटना हुँदा १ जना घाइते भएका छन् र करिब रु. ३६ लाख ३० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ। शान्ति सुरक्षाका लागि पिकेट, मोबाइल गस्ती, चेकिङ लगायत ८ हजार २४८ ड्युटी परिचालनमा २९ हजार ७६ जना प्रहरी जनशक्ति खटिएको विवरणमा उल्लेख छ।
यस अवधिमा समुदाय तथा विद्यालय लक्षित ४७ भन्दा बढी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको, ५ हजार ३२४ सेवाग्राहीले सेवा लिएको तथा प्रहरी हटलाइन नम्बरमा हजारौं कल प्राप्त भएको पनि प्रहरीले जनाएको छ। अपराध न्यूनीकरण र समुदाय–प्रहरी सहकार्यलाई प्राथमिकतामा राखेर गतिविधि अघि बढाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
Published Date: 16 February 2026