भक्तपुर, फागुन ४ । विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर जाने सडक प्रयोग गरेकै आधारमा मोटरसाइकल यात्रुहरूसँग मनोमानी तरिकाले शुल्क असुलिँदै आएको छ।
मन्दिरतर्फ जाने मुख्य सडक हुँदै आवतजावत गर्दा मोटरसाइकलसँग २५ रुपैयाँ असुल गरिएको हो। यात्रुहरूले उपलब्ध गराएको रसिदअनुसार “न्याचोपौवा सामुदायिक वन उपभोक्ता समूह, चाँगुनारायण नगरपालिका–४, भक्तपुर” को नाममा नगद रसिद काटी रकम संकलन गरिएको देखिन्छ। तर उक्त रसिदमा पार्किङ शुल्क सम्बन्धी कुनै उल्लेख छैन, जसले पार्किङ सेवा नलिँदा पनि पार्किङकै नाममा शुल्क लिइएको दाबीलाई विवादित बनाएको छ।
यात्रुहरूका अनुसार सार्वजनिक सडक प्रयोग गरेकै कारण शुल्क लिनु कानुनी हो कि होइन भन्ने विषयमा न त स्पष्ट सूचना बोर्ड राखिएको छ न त दररेट र कानुनी आधार सार्वजनिक गरिएको छ।
धार्मिक तथा पर्यटकीय स्थलमा यसरी जबर्जस्ती शुल्क असुल्दा आन्तरिक पर्यटक र स्थानीय नागरिक दुवै प्रभावित भएको उनीहरूको भनाइ छ। यस विषयमा चाँगुनारायण नगरपालिका, डिभिजन वन कार्यालयलगायत सरोकारवाला निकायले तत्काल छानबिन गरी सार्वजनिक सडकमा भइरहेको यस्तो मनपरी शुल्क असुली रोक्नुपर्ने माग बढ्दै गएको छ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले सडक प्रयोग गरेकै आधारमा मोटरसाइकल यात्रुहरूबाट प्रतिव्यक्ति रू २५ शुल्क असुल गरिएको विषयमा आफूलाई जानकारी नभएको बताएका छन्। उनले यस विषयमा तत्काल सम्बन्धित न्याचोपौवा सामुदायिक वन उपभोक्ता समूहसँग सम्पर्क गरी वास्तविक अवस्था बुझिने स्पष्ट पारे। पार्किङ्गका नाममा मात्र भएपनि एक मोटरसाइकलबाट रू २५ शुल्क लिइनु महँगो भएन र भन्ने प्रश्नमा नगरप्रमुख खत्रीले उक्त विषयमा आवश्यक हेरविचार गरिने र उचित निर्णय लिइने प्रतिबद्धता जनाए।
Published Date: 16 February 2026