आर्थिक चिन्ता र खाद्य असुरक्षाले मुटुलाई छिटो कमजोर बनाउने सक्ने

आर्थिक चिन्ता र खाद्य असुरक्षाले मुटुलाई छिटो कमजोर बनाउने सक्ने : Icon Khabar

काठमाडौँ, फागुन ४ । आर्थिक चिन्ता र खाद्य असुरक्षाले मुटुलाई परम्परागत जोखिम कारकहरूभन्दा पनि छिटो कमजोर बनाउने सक्ने तथ्य नयाँ अध्ययनले देखाएको छ। मायो क्लिनिक प्रोसेडिङ्स जर्नलमा प्रकाशित उक्त अध्ययनले आर्थिक तनाव र खाद्य असुरक्षाले मुटुको स्वास्थ्यमा गहिरो असर पार्ने संकेत गरेको हो।

मुटु रोग हाल मृत्युको प्रमुख कारण बनेको छ। यस्तो अवस्थामा यो अध्ययनले आर्थिक तनावलाई मुटु स्वास्थ्यसँग कसरी जोडेर हेर्ने र त्यसबाट जोगिन के गर्न सकिन्छ भन्नेबारे नयाँ प्रश्न उठाएको छ।

अध्ययनले के देखायो?

अमेरिकी वेलनेस विज्ञ डा. लियाना वेनअनुसार अनुसन्धानकर्ताहरूले २ लाख ८० हजारभन्दा बढी वयस्कको तथ्यांक विश्लेषण गरेका थिए। ती सहभागीहरूले आफ्नो सामाजिक तथा आर्थिक अवस्था सम्बन्धी विस्तृत सर्वेक्षण भरेका थिए र उनीहरूको मुटु स्वास्थ्यको क्लिनिकल परीक्षण गरिएको थियो।

यस अध्ययनले ‘कार्डियोभास्कुलर उमेर’ अर्थात् मुटु र रक्तनली जैविक रूपमा कति उमेरको देखिन्छ भन्ने अवधारणामा ध्यान केन्द्रित गर्‍यो। नतिजा अनुसार, उच्च आर्थिक तनाव र खाद्य असुरक्षा भोगिरहेका व्यक्तिहरूमा मुटु अपेक्षाकृत छिटो बुढो भएको पाइयो। यो अवस्था उच्च रक्तचाप, मधुमेह जस्ता परम्परागत जोखिम कारकलाई समायोजन गरेपछि पनि देखिएको हो।

अर्थात् एउटै उमेर र समान स्वास्थ्य प्रोफाइल भएका दुई व्यक्तिमा पनि आर्थिक तनावको स्तर फरक भए मुटुको ‘उमेर’ फरक हुन सक्छ।

मुटु ‘बुढो हुनु’ भनेको के हो?

मुटु बुढो हुनु भन्नाले मुटु तथा रक्तनलीमा देखिने संरचनात्मक र कार्यात्मक परिवर्तनहरूलाई जनाउँछ, जसले मुटु रोगको जोखिम बढाउँछ। यसमा रक्तनली कडा हुनु, मुटुको मांसपेशीको कार्यक्षमता घट्नु र शारीरिक परिश्रममा मुटुको प्रतिक्रिया कमजोर हुनु जस्ता समस्या पर्छन्।

दीर्घकालीन तनावका कारण कोर्टिसोल र एड्रेनालिनजस्ता हर्मोन लगातार सक्रिय रहन्छन्। यसले रक्तचाप, मुटुको धड्कन, सूजन र मेटाबोलिज्ममा नकारात्मक असर पार्छ। लामो समयसम्म यस्तो अवस्था रहँदा मुटुमा ‘घिसावट’ जस्तै असर पर्न सक्छ, जुन उमेर बढ्दा देखिने परिवर्तनसँग मिल्दोजुल्दो हुन्छ।

आर्थिक तनाव किन अझ खतरनाक?

आर्थिक तनाव अन्य तनावभन्दा फरक र अझ शक्तिशाली हुन्छ। कार्यालयको कामको दबाबजस्तो अल्पकालीन तनावभन्दा फरक, आर्थिक तनाव प्रायः दीर्घकालीन हुन्छ- बिल तिर्ने चिन्ता, ऋण, आवासको अनिश्चितता, उपचार खर्च र परिवारको जिम्मेवारीसँग जोडिएको छ।

यसले निद्रामा असर पार्न सक्छ, स्वस्थ खाना र स्वास्थ्य सेवामा पहुँच घटाउन सक्छ, व्यायाम र आरामको अवसर कम गर्छ। यी सबै कारणहरू एकअर्कालाई बल दिँदै मुटु रोगको जोखिम बढाउँछन्।

परम्परागत जोखिम कारकसँग तुलना गर्दा?

डा. वेन भन्छिन्, यस अध्ययनको सबैभन्दा चकित पार्ने पक्ष के हो भने आर्थिक तनाव र मुटु बुढ्याइबीचको सम्बन्धको स्तर उच्च रक्तचाप, मधुमेह वा धूम्रपानजस्ता क्लिनिकल जोखिम कारकसरह वा कहिलेकाहीँ अझ बढी देखिएको छ।

यसले स्वास्थ्यका सामाजिक निर्धारक (जस्तै आर्थिक अवस्था र खाद्य सुरक्षा)लाई पनि मुटु स्वास्थ्यको मुख्य छलफलमा समेटिनुपर्ने संकेत गर्छ।

आर्थिक तनाव भएकै कारण मुटु रोग अनिवार्य हुन्छ?

होइन। आर्थिक तनावले जोखिम बढाउँछ तर यसले मुटु रोग निश्चित हुन्छ भन्ने होइन। जोखिम धेरै कारकहरूको संयोजनबाट निर्धारण हुन्छ र अझै पनि व्यक्तिगत तथा चिकित्सकीय स्तरमा धेरै उपाय अपनाउन सकिन्छ।

चिकित्सकहरूले के गर्नुपर्छ?

चिकित्सकहरूले बिरामीको मुटु स्वास्थ्य मूल्यांकन गर्दा आर्थिक तनावलाई पनि समग्र जोखिमको भागका रूपमा हेर्नुपर्छ। बिरामीसँग तनाव, आर्थिक दबाब र स्रोतको पहुँचबारे सोध्नु उपयोगी हुन्छ।

यद्यपि चिकित्सकले आर्थिक समस्या समाधान गर्नैपर्छ भन्ने होइन, तर आवश्यक स्रोतमा जोडिदिन, उपचार खर्च कम हुने योजना बनाउन र तनावका कारण औषधि वा जीवनशैली पालना गर्न कठिन भइरहेको छ कि छैन भन्ने बुझ्न सक्छन्।

मुटु जोगाउन अरू के गर्ने?

मुटु स्वास्थ्यका आधारभूत उपायहरू अझै पनि उत्तिकै महत्त्वपूर्ण छन्- नियमित शारीरिक गतिविधि, सन्तुलित आहार, तौल नियन्त्रण, धूम्रपान नगर्ने, रक्तचाप, कोलेस्ट्रोल र रगतको चिनी नियन्त्रणमा राख्ने।

नियमित स्वास्थ्य जाँच आवश्यक छ, किनकि धेरै मुटु सम्बन्धी जोखिमहरू लक्षण नदेखिँदै बढिरहेका हुन्छन्। साथै, ध्यान अभ्यास, पर्याप्त निद्रा र सामाजिक सम्बन्धले दीर्घकालीन तनावको असर कम गर्न मद्दत गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 February 2026






ताजा
सोमबार नेप्से परिसूचक ८.१६ अंकले घट्यो
आर्थिक चिन्ता र खाद्य असुरक्षाले मुटुलाई छिटो कमजोर बनाउने सक्ने
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
भक्तपुरमा माघमा १५२ मुद्दा दर्ता, बैंकिङ कसुर सबैभन्दा बढी; ५ जनाको सवारी दुर्घटनामा मृत्यु


ट्रेन्डिङ
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न