निपाह भाइरसको सङ्क्रमण र यसको जोखिमबारे नयाँ विश्लेषण सार्वजनिक

निपाह भाइरसको सङ्क्रमण र यसको जोखिमबारे नयाँ विश्लेषण सार्वजनिक : Icon Khabar
Nipah virus concept. Nipah virus outbreak. illness. pandemic. Microscope virus close up Design for poster banner social media post

काठमाडौँ, माघ २० । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पछिल्लो समय भारतमा देखिएको निपाह भाइरसको सङ्क्रमण र यसको जोखिमबारे नयाँ विश्लेषण सार्वजनिक गरेको छ। जनावरबाट मानिसमा सर्ने यो दुर्लभ र खतरनाक भाइरसका कारण ४० देखि ७५ प्रतिशतसम्म बिरामीको मृत्यु हुनसक्ने भए पनि यसका विरुद्ध अहिलेसम्म कुनै आधिकारिक खोप वा उपचार उपलब्ध छैन।

मुख्यतः फलफूल खाने चमेरो (फ्रुट ब्याट) बाट सर्ने यो भाइरस भारतका विभिन्न राज्यहरूमा मौसमी रूपमा देखिँदै आएको छ। भारतको पश्चिम बंगालमा यो तेस्रो पटक देखिएको हो भने सन् २०१८ यता केरला राज्यमा पटक-पटक यसका लहरहरू देखिएका छन्।

डब्लुएचओका अनुसार भारतमा विशेष गरी काँचो खजुरको रस सेवन गर्ने र चमेरोको चहलपहल बढी हुने डिसेम्बरदेखि मे महिनासम्म यसको जोखिम उच्च रहन्छ। सुरुवाती लक्षणहरू सामान्य हुने भएकाले समयमै रोग पहिचान गर्न कठिन हुनु र विशिष्ट औषधि नहुनुले यसको जोखिमलाई थप चुनौतीपूर्ण बनाएको छ।

भारतमा सङ्क्रमण फैलिए पनि नेपाल लगायतका छिमेकी मुलुकहरूका लागि भने डब्लुएचओले यसको क्षेत्रीय जोखिम न्यून रहेको जनाएको छ। अहिलेसम्म यो भाइरस सीमा पार गरेर अर्को देशमा पुगेको आधिकारिक तथ्य फेला परेको छैन।

यद्यपि, चमेरोहरूको ओहोरदोहोर हुने साझा प्राकृतिक करिडोर र विगतको संक्रमणको इतिहासका कारण जोखिम भने पूर्ण रूपमा टरेको छैन। मानिसबाट मानिसमा समेत सर्न सक्ने यो भाइरस अस्पताल वा घरमा बिरामीको हेरचाह गर्दा र उनीहरूको शारीरिक तरल पदार्थको सम्पर्कमा आउँदा फैलन सक्ने भएकाले सतर्कता अपनाउन आवश्यक देखिन्छ।

हालसम्म भारतबाहिर यो सङ्क्रमण नफैलिएका कारण विश्वव्यापी रूपमा यसको जोखिम न्यून रहेको मूल्याङ्कन गरिएको छ। भारतले आफ्ना केन्द्रीय र राज्यस्तरका द्रुत प्रतिकार्य टोलीहरू (आरआरटी) मार्फत सङ्क्रमण नियन्त्रण र परीक्षण क्षमतामा सुधार गरेकाले पनि क्षेत्रीय स्तरमा ठूलो खतरा नदेखिएको डब्लुएचओको ठहर छ।

तैपनि प्रारम्भिक निदानमा हुने ढिलाइले प्रकोप नियन्त्रणमा बाधा पुर्‍याउन सक्ने भएकाले स्वास्थ्य संस्थाहरूमा सङ्क्रमण रोकथामका उपायहरू कडाइका साथ लागू गर्न सुझाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 February 2026