काठमाडौं, कार्तिक २० । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
त्यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रसहित कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
यसैगरी, तराई, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
Published Date: 06 November 2026