भक्तपुर, माघ १७ । किकम्पा मन्टेश्वरी प्रि–स्कूलको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा दीक्षान्त समारोह र सांस्कृतिक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
सूर्यविनायक नगरपालिका वडा नं ८, इतबुंस्थित विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन लगायत विविध सांस्कृतिक प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक तथा अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि सूर्यविनायक नगरपालिका वडा नं ८ का वडा अध्यक्ष पुष्पराज बस्नेतले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरे। उनले देशमा बसेर केही गर्न सकिँदैन, विदेश जानैपर्छ भन्ने धारणा निर्माण हुँदै गएको अवस्थामा प्रि–स्कूलजस्ता बालबालिकाको जग बसाल्ने विद्यालयहरूले देशमै रहेर उच्च तहसम्म अध्ययन गर्न सकिन्छ भन्ने विश्वास र प्रेरणा दिनुपर्ने आवश्यकता औँल्याए।
विशेष अतिथि मध्यपुर थिमी नगरपालिकाका स्काउट प्रमुख तुल्सीहरि प्रजापतिले विद्यालयले बालबालिकाको सर्वाङ्गीण विकासमा खेलेको भूमिकाको प्रशंसा गर्दै शिक्षासँगै संस्कार र व्यवहारिक सीप विकासमा पनि ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा अतिथिका रूपमा पूर्व अभिभावक मूरज दिदिया र विद्यालयका प्रबन्ध निर्देशक अच्युत प्रजापतिले पनि मन्तव्य राखेका थिए। प्रबन्ध निर्देशक प्रजापतिले किकम्पा मन्टेश्वरी एक स्थापित ब्रान्डका रूपमा विकास भएको उल्लेख गर्दै आगामी दिनमा विद्यालयले डिजिटलाइज्ड शिक्षामा जोड दिने बताए।
विद्यालयका प्रिन्सिपल राजेश लाखाले स्वागत मन्तव्यसँगै विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यालयका संस्थापक तथा अध्यक्ष, विद्यालय परिवार, अभिभावक प्रतिनिधि र शिक्षकहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। साथै शैक्षिक सत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो।
सो अवसरमा प्रि–सेकेन्ड कक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूलाई दीक्षित गरिएको थियो। अभिभावकहरूको तर्फबाट विद्यालयको शैक्षिक वातावरण र गतिविधिप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरिएको थियो।
कार्यक्रम विद्यालयका संस्थापक अध्यक्ष देवचन्द्र बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो। अध्यक्ष बज्राचार्यले किकम्पा सांस्कृतिक प्रतिष्ठानका जुझारु युवा टोलीको नेतृत्वमा स्थापना भएको विद्यालय आजको अवस्थामा आइपुग्नुमा अभिभावक, शिक्षक–शिक्षिका र विद्यालय परिवारको सामूहिक योगदान रहेको बताए।
Published Date: 31 January 2026