कुलमान घिसिङको राजीनामापछि अलपत्र बनेको भक्तपुर–अरनिको राजमार्ग विस्तार

राजमार्ग विस्तार कहिले सम्पन्न हुन्छ ?

कुलमान घिसिङको राजीनामापछि अलपत्र बनेको भक्तपुर–अरनिको राजमार्ग विस्तार : Icon Khabar

भक्तपुर, माघ १५ । भक्तपुर हुँदै काठमाडौँ जोड्ने प्रमुख मार्ग अरनिको राजमार्गको विस्तार कार्य यातायात मन्त्री कुलमान घिसिङको राजीनामापछि अलपत्र परेको स्थानीयले आरोप लगाएका छन्। लामो समयदेखि काम रोकिँदा सडकको अवस्था झन् दयनीय बन्दै गएको छ।

स्थानीयका अनुसार घाम लाग्दा सडकभरि धुलो उड्ने र पानी पर्दा हिलाम्मे हुने अवस्थाले सवारी चालक र पैदलयात्री दुवैलाई सास्ती दिएको छ। धुलो र हिलोका कारण सवारी साधन नियन्त्रणमा लिन कठिन हुने भएकाले दुर्घटनाको जोखिम दिनप्रतिदिन बढ्दै गएको उनीहरूको गुनासो छ।

राजमार्ग विस्तारको काम सुरु भएसँगै सडक समयमै कालोपत्रे तथा व्यवस्थापन नहुँदा समस्या झनै जटिल बनेको छ।

“घाम लाग्दा धुलोले सास फेर्न गाह्रो हुन्छ, पानी पर्दा हिँड्नै नसक्ने गरी हिलो हुन्छ,” एक स्थानीयले भने, “मन्त्रीको राजीनामापछि कसैले हेर्ने मान्छे नै छैन जस्तो लागेको छ।”

कुलमान घिसिङ यातायात मन्त्रीबाट राजीनामा दिएपछि सम्बन्धित निकायबीच समन्वय कमजोर बनेको स्थानीयको आरोप छ। यसले गर्दा दैनिक हजारौँ सवारी साधन चल्ने व्यस्त राजमार्ग जोखिमपूर्ण बन्दै गएको छ।

सडकको खराब अवस्थाका कारण साना सवारी साधन, विशेष गरी मोटरसाइकल र साइकल चालकहरू बढी प्रभावित भएका छन्। धुलो र हिलोका कारण स्किड हुने, सवारी पल्टिने र पैदलयात्रीलाई ठक्कर लाग्ने जोखिम बढेको स्थानीयको भनाइ छ।

स्थानीयवासीले सम्बन्धित मन्त्रालय र सडक विभागसँग तत्काल काम अघि बढाउन, सडकलाई व्यवस्थित गर्न र दुर्घटना न्यूनीकरणका लागि अस्थायी उपायहरू अपनाउन माग गरेका छन्। “विकासका नाममा सडक खनेर छाड्नु होइन, सुरक्षित र समयमै सम्पन्न गर्नु सरकारको दायित्व हो,” उनीहरूले बताएका छन्।

भक्तपुर–अरनिको राजमार्ग विस्तार कहिले सम्पन्न हुन्छ भन्ने विषय अझै अन्योलमै छ। तर सडकको वर्तमान अवस्थाले नागरिकको दैनिकी कष्टकर बनाइरहेको छ भने सम्भावित दुर्घटनाको खतरा पनि बढाइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 January 2026