काठमाडौँ, माघ १४ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते भएको घटनालाई लिएर केही पक्षले गलत प्रचार फैलाइरहेको बताएका छन्। उनले आफूले आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको भन्ने आरोप पूर्ण रूपमा निराधार रहेको दाबी गरेका छन्। संविधानले प्रधानमन्त्रीलाई यस्तो आदेश दिने अधिकार नदिने र आफूले कहिल्यै त्यस्तो आदेश नदिएको तथा दिन नसक्ने उनको भनाइ छ।
घटनापछि तत्काल पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गरिएको उल्लेख गर्दै उनले ज्यान गुमाएका १९ जना बालबालिकाप्रति दुःख व्यक्त गरेका छन्। उक्त घटना आफूलाई अहिले पनि पीडादायी रहेको बताएका छन्।
उनका अनुसार सम्भावित घुसपैठको सूचनाका कारण सरकारले माइतीघर क्षेत्रमा प्रदर्शन रोक्ने निर्णय गरेको थियो। तर शान्तिपूर्ण सभाका लागि अनुमति मागिएपछि प्रशासनले अनुमति दिएको र माइतीघरमा बिहानदेखि सुरु भएको प्रदर्शन शान्तिपूर्ण रूपमा चलेको दाबी गरेका छन्। सो क्रममा न गोली चलेको न लाठीचार्ज भएको उनको भनाइ छ।
पूर्व प्रधानमन्त्रीका अनुसार दिउँसो करिब १२ बजेतिर घुसपैठ गर्ने समूहले युवाहरूलाई घेरेर निषेधित क्षेत्रतर्फ लैजान थालेको दृश्य देखिएको थियो। आयोजकहरूले घुसपैठको जानकारी दिँदै युवाहरूलाई घर फर्किन आग्रह गरे पनि योजनाबद्ध रूपमा केही समूहले बालबालिका र स्कुल ड्रेसमा रहेका नानीबाबुलाई अगाडि राखेर संसद भवनतर्फ लैजान खोजेको आरोप उनले लगाएका छन्।
संसद भवनअगाडि आगजनीको प्रयास र विष्फोटक सामग्री प्रयोग भएपछि स्थितिलाई कानुनले ‘आन्दोलन’ नभई ‘राज्यविरुद्धको हमला’ मानेको र संसद भवनभित्र सुरक्षाकर्मीमाथि प्रत्यक्ष आक्रमण भएपछि गोली चलेको उनको दाबी छ। त्यसपछि करिब दुई घण्टासम्म भएका घटनाले देशलाई गहिरो चोट पुर्याएको बताएका छन्।
यदि सुरक्षाकर्मीले हतियार खोसिन दिएको भए वा संसद भवनमा आगलागी भएको भए झन ठूलो क्षति हुने तर्क गर्दै उनले विस्फोटकसहित आएका समूहको उद्देश्य अराजकता फैलाउनु रहेको बताएका छन्। भदौ २४ गते सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालतलगायत संरचनामा भएको तोडफोड पनि आफ्नो राजीनामापछि भएको उनको भनाइ छ।
उनले विश्वका जुनसुकै देशमा पनि संवैधानिक अंगहरूको सुरक्षाका लागि सुरक्षाकर्मीहरू चौबीसै घण्टा हतियारसहित तैनाथ रहने व्यवस्था हुने बताएका छन्। सुरक्षाकर्मीहरूले सरकारको आदेश नभई कानुनको सपथ लिने र उक्त दिन पनि सरकारको आदेशमा गोली नचलेको उनको दाबी छ।
पूर्व प्रधानमन्त्रीले माइतीघरको शान्तिपूर्ण प्रदर्शनमा कुनै बल प्रयोग नभएको, वानेश्वरको निषेधित क्षेत्र तोडिँदासम्म गोली नचलेको र बालबालिकालाई कानुनले स्वतः बल प्रयोग हुने संवेदनशील स्थानतर्फ लगिएको बताएका छन्। सामाजिक सञ्जालमा फैलाइएका गलत प्रचारमा नलाग्न आग्रह गर्दै उनले जुनसुकै मञ्चमा बसेर जवाफ दिन तयार रहेको बताएका छन्।
अन्त्यमा उनले प्रश्न उठाएका छन्—माइतीघरको शान्तिपूर्ण प्रदर्शनबाट ती युवाहरूलाई संसद भवनजस्तो संवेदनशील स्थानतर्फ कसले, किन र कसरी लग्यो? यसको जवाफ खोज्नुपर्ने उनको भनाइ छ।
Published Date: 28 January 2026