ओलीको डिबेट प्रस्तावमा बालेनको कडा प्रतिक्रिया

ओलीको डिबेट प्रस्तावमा बालेनको कडा प्रतिक्रिया : Icon Khabar

काठमाडौं, माघ ११ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र साहबीच पब्लिक डिबेटमा आउने विषयलाई लिएर सामाजिक सञ्जालमा तर्कवितर्क सुरु भएको छ। आइतबार बिहान करिब ८ बजे ओलीले सामाजिक सञ्जालमा पब्लिक डिबेटका लागि आफू तयार रहेको उल्लेख गर्दै स्टाटस पोष्ट गरेपछि करिब दुई घण्टापछि साहले सोही स्टाटसमा प्रतिक्रिया दिएका हुन्।

ओलीले फेसबुकमा लेखेका छन्, “पब्लिक डिबेटका लागि तयार छौँ। नयाँ–पुराना सबै दल अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबीचको प्रतिस्पर्धामा नेकपा (एमाले) देश बनाउने पक्षमा मैदानमा छ।”

सार्वजनिक बौद्धिक वृत्तबाट दलका प्रमुख नेताबीच पारदर्शी बहसको माग उठेकाले आफू पब्लिक डिबेटका लागि तयार भएको ओलीको भनाइ छ। सामाजिक सञ्जालमार्फत ‘फ्रेमिङ’ गरिएका प्रचार सामग्री देखाएर वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकाले पब्लिक डिबेटको आवश्यकता महसुस गरिएको दाबी उनले गरेका छन्।

ओलीले यसपटकको निर्वाचनमा पुराना, अघिल्ला चुनावपछि खुलेका तथा भर्खरै खुलेका नयाँ दलहरूले समेत प्रधानमन्त्रीको उम्मेदवार तोकेर चुनावमा होमिएको उल्लेख गर्दै नेतृत्वको दाबी गर्ने दलहरूको एजेण्डा, विगतको काम र आगामी रोडम्यापबारे आमने–सामने बहस हुनु सकारात्मक भएको बताएका छन्।

पब्लिक डिबेटमा सहभागी भएर यसअघि गरिएका काम र आगामी योजना प्रस्तुत गर्न आफू तयार रहेको ओलीको भनाइ छ। उनले चुनावपछि प्रधानमन्त्रीका उम्मेदवार बनेका सबैलाई एउटै मञ्चमा उभ्याएर प्रत्यक्ष प्रश्नोत्तर गरिनुपर्ने प्रस्ताव पनि गरेका छन्।

यता, काठमाडौं महानगरका पूर्वमेयर बालेन्द्र साहले भने सो पब्लिक डिबेटमा नजाने प्रतिक्रिया दिएका छन्। साहले ओलीको स्टाटसमा जवाफ फर्काउँदै लेखेका छन्, “आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठीकै छ। नेताहरूका घर कहाँ–कहाँ छन् भन्ने तपाईंहरूलाई थाहा थियो। २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाइएको हो।”

साहले ओलीलाई आतङ्कवादीको रूपमा आफूलाई स्वीकार गर्न आग्रहसमेत गरेका छन्। उनले लेखेका छन्, “आफूलाई आतङ्कवादी कहिले स्वीकार्ने हो? त्यो भएपछि अरु कुरा गरौँला। ७६ जना बच्चाको हत्यारा र उसका मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।”

यो समाचार तयार पार्दासम्म ओलीको उक्त स्टाटस तीन घण्टामा ३३ हजारले मन पराएका छन् भने २३ हजार प्रतिक्रिया र १.१ हजार शेयर भएको देखिन्छ। ओली र साह दुवै झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्। यस निर्वाचनमा झापा–५ सबैको ध्यान केन्द्रित भएको क्षेत्र बनेको छ।

Published Date: 25 January 2026


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै