भक्तपुरमा घ्यःचाकु सल्हु सांस्कृतिक तथा संवाद कार्यक्रम सम्पन्न

भक्तपुरमा घ्यःचाकु सल्हु सांस्कृतिक तथा संवाद कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, माघ १ । भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर पर्यटन विकास समितिको आयोजनामा तथा उद्योग तथा वाणिज्य कार्यालयको सहकार्यमा ‘गो लोकल’ अभियान अन्तर्गत माघे संक्रान्तिको अवसरमा घ्यःचाकु सल्हु सांस्कृतिक तथा संवाद कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा संस्कृतिविद् विनोदराज शर्मा र पोषणविद् डा. अरुणा उप्रेतीको सहभागिता रहेको थियो। पोषणविद् उप्रेतिले नेपाली समाजका विभिन्न समुदायका परम्परागत खानपान आ–आफ्नै विशेषता भएका र तिनमा वैज्ञानिक आधार रहेको बताइन्। उनका अनुसार पूर्वीय दर्शनमा आधारित परम्परागत खानपानलाई उपेक्षा गरी पश्चिमी विज्ञापन र आयातित खाद्यवस्तुमा निर्भर हुँदा विभिन्न रोग बढ्दै गएको छ। परम्परागत रूपमा प्रयोग हुँदै आएको तोरीको तेल र घिउलाई छोडेर रिफाइन तेल र अन्य विकल्पतर्फ आकर्षित हुँदा स्वास्थ्यमा नकारात्मक असर परेको उनको भनाइ थियो। उनले घिउ–चाकु सेवनका फाइदा र त्यसका कारण शरीरमा पर्ने सकारात्मक प्रभावबारे जानकारी दिइन्।

संस्कृतिविद् शर्माले घ्यःचाकु सल्हुको सांस्कृतिक महत्व, चाकुका विभिन्न परिकारमध्ये छ्वालु चाकु खाने परम्परा तथा माघे संक्रान्तिमा सेवन गरिने कन्दमूल र सागसब्जीको सांस्कृतिक महत्वबारे चर्चा गरे।

उद्योग तथा वाणिज्य कार्यालयका कार्यालय प्रमुख रामप्रसाद कुस्माले परम्परागत उद्योगलाई सम्बन्धित सरकारी निकायमा दर्ता गरी सञ्चालन गरेमा संघ, प्रदेश र स्थानीय तहबाट उपलब्ध सेवा–सुविधा लिन सकिने भएकाले यसतर्फ उद्यमीलाई ध्यान दिन आग्रह गरे।

कार्यक्रममा गो लोकल कार्यदल सदस्य रमिला दुवालले घ्यःचाकु सल्हुको महत्व, त्यस समयमा समाजमा प्रचलित खानपान र संस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुत गरिन्। भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले गो लोकल अभियानबारे जानकारी गराए भने भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्माले घ्यःचाकु सल्हुको अवसरमा सांस्कृतिक संवादको औचित्यबारे धारणा राखे।

गो लोकल कार्यक्रम संयोजक विरेन्द्र जतिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सह–संयोजक रामसुन्दर भेलेले संवाद कार्यक्रमको सहजीकरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 January 2026
Website | + posts