किन टुटेको थियो अमिताभ र रेखाको प्रेम सम्बन्ध ?

किन टुटेको थियो अमिताभ र रेखाको प्रेम सम्बन्ध ? : Icon Khabar

मुम्बई, पुस १८ । हिन्दी फिल्मको इतिहासमा अभिनेत्री रेखा तथा महानायक अमिताभ बच्चनको जोडी सधैँ चर्चाको केन्द्रमा रह्यो । पर्दामा मात्र होइन, पर्दाबाहिर पनि यी दुई कलाकारबीचको निकटताले लामो समयसम्म फिल्म नगरीलाई तताइरह्यो ।

आफ्नो समयका सबैभन्दा सफल जोडीमध्ये मानिने रेखा–अमिताभको सम्बन्ध अन्ततः किन टू्रट्यो त ? यसबारे हालै अभिनेत्री रेखाकी नजिककी साथीले चकित पार्ने खुलासा गरेकी छिन् ।

रीलभन्दा बाहिरको गहिरो सम्बन्ध

अमिताभ बच्चन तथा रेखालाई लिएर बेला–बेला चर्चा चुलिनु नयाँ कुरा होइन । ‘मुकद्दर का सिकन्दर’, ‘सुहाग’ जस्ता सुपरहिट फिल्महरूमा सँगै काम गरेका यी दुई केवल पर्दामा मात्र होइन, वास्तविक जीवनमा पनि एक–अर्काको निकै नजिक देखिन्थे । उनीहरूको सम्बन्धलाई लिएर अफेयरका चर्चा, अड्कलबाजी तथा गसिपहरू लगातार बाहिर आइरहे । तर यति लामो अवधिसम्म पनि न त अमिताभले, न त रेखाले नै आफ्नो सम्बन्धबारे खुला रूपमा सार्वजनिक स्वीकारोक्ति दिए।

किन अलग भयो चर्चित जोडी ?

अहिले आएरु लेखिका तथा फेसन डिजाइनर बीना रमानीले दिएको अन्तर्वार्तामा रेखा–अमिताभको सम्बन्धबारे स्पष्ट कुरा राखेकी छिन्। उनले दुवै कलाकार एक–अर्काको निकै नजिक रहेको स्वीकार्दै सम्बन्ध टुट्नुको वास्तविक कारण पनि खुलाएकी छिन् ।

बीना रमानी भन्छिन्— ‘रेखा मेरी निकै नजिककी साथी थिइन् । जब म उनलाई भेट्थेँ, उनको पूरै संसार अमिताभ बच्चन वरिपरि घुमिरहेको हुन्थ्यो । रेखा भन्थिन्, उनी आत्मिक रूपमा अमिताभकी हुन् र अमिताभ पनि आत्मिक रूपमा उनका हुन् । तर त्यसका बाबजुद पनि रेखाले व्यवसायी मुकेश अग्रवालसँग विवाह गरिन् ।’

अमिताभको राजनीति प्रवेशले बदलियो सम्बन्धको दिशा ?

बीना रमानीका अनुसार, अमिताभ बच्चनको जीवनमा आएको ठूलो मोड नै रेखासँगको सम्बन्ध टुट्नुको कारण बन्यो । उनी भन्छिन्—
‘मैले नै रेखाको मुकेश अग्रवालसँग भेट गराइदिएकी थिएँ । त्यतिबेला अमिताभ राजनीतिमा प्रवेश गरिसकेका थिए । रेखा मसँग भेट्न न्यूयोर्क आएकी थिइन् । उनी मानसिक रूपमा निकै कठिन समयबाट गुज्रिरहेकी थिइन्, किनकि अमिताभ बच्चन अब एक सार्वजनिक व्यक्तित्व भइसकेका थिए । सम्भवतः अमिताभले उनलाई उनीहरूको सम्बन्धको अब कुनै भविष्य छैन भनेर स्पष्ट भनेका थिए । त्यो सम्बन्ध सार्वजनिक रूपमा अगाडि बढ्न सम्भव थिएन ।’

रेखाले पनि स्वीकारेकी थिइन् अमिताभको आकर्षण

यसअघि रेखाले चर्चित टक शो ‘रन्डेजभ्यू विद सिमी ग्रेवाल’ मा अमिताभ बच्चनबारे खुलेर कुरा गरेकी थिइन् । उनले अमिताभ बच्चन यति असल तथा आकर्षक व्यक्ति भएको बताउँदै भनेकी थिइन्– ‘कुनै पनि महिलाले उनलाई मन पराउन सक्छिन् र उनको प्रेममा पर्न सक्छिन् ।’

Published Date: 02 January 2026