वाशिङ्टन, पुस २ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति कडा बनाउँदै ट्राभल ब्यान(यात्रा प्रतिवन्ध)को दायरा ३९ देशसम्म विस्तार गरेका छन्। यससँगै अमेरिका यात्रा तथा बसोबास गर्न पाउने देशहरूको संख्या यस वर्षको सुरुवातमा गरिएको घोषणाको तुलनामा दोब्बर भएको छ।
नयाँ घोषणाअनुसार थप पाँच देशका नागरिकहरूसँगै प्यालेस्टिनी अथोरिटीद्वारा जारी यात्रा कागजातमा अमेरिका जान चाहनेहरूलाई पनि पूर्ण प्रतिबन्धको सूचीमा राखिएको छ। यस्तै, १५ अन्य देशमाथि आंशिक प्रतिबन्ध तथा प्रवेश सीमा लगाइएको छ।
ट्रम्प प्रशासनका अनुसार यो निर्णय अमेरिका प्रवेशसम्बन्धी यात्रा र आप्रवासन मापदण्डलाई थप कडा बनाउने निरन्तर प्रयासको अंग हो। यसअघि जुन महिनामा १२ देशका नागरिकमाथि पूर्ण प्रतिबन्ध र सात देशका नागरिकमाथि आंशिक प्रतिबन्ध लगाउने घोषणा गरिएको थियो।
हाल लागू प्रतिबन्धअनुसार पहिले नै भिसा पाएका, अमेरिकाका कानुनी स्थायी बासिन्दा, कूटनीतिक तथा खेलाडी जस्ता विशेष भिसा श्रेणीका व्यक्तिहरूलाई भने यसबाट छुट दिइएको छ। यद्यपि, नयाँ प्रतिबन्ध कहिलेदेखि कार्यान्वयन हुने भन्ने विषयमा प्रशासनले स्पष्ट पारेको छैन।
प्रशासनले प्रतिबन्धको कारण उल्लेख गर्दै धेरै देशहरूमा व्यापक भ्रष्टाचार, नक्कली अथवा अविश्वसनीय नागरिक कागजात तथा आपराधिक अभिलेखका कारण सुरक्षा जाँच कठिन भएको जनाएको छ।
Published Date: 17 December 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1