नेपालमा आजदेखि पाँचौँ राष्ट्रिय बाघ गणना सुरु

नेपालमा आजदेखि पाँचौँ राष्ट्रिय बाघ गणना सुरु : Icon Khabar

काठमाडौँ, पुस १ । नेपालले आजदेखि पाँचौँ राष्ट्रिय बाघ गणना सुरु गरेको छ। चितवन, पर्सा, बाँके, बर्दिया, शुक्लाफाँटा र लालझाडी करिडोरलाई समेट्दै वैज्ञानिक विधिबाट देशका प्रमुख बाघ बासस्थानमा गणना प्रक्रिया अघि बढाइएको हो।

गणनाअन्तर्गत करिब २ हजार ३ सय स्वचालित क्यामरा जडान गरिँदैछ, जसबाट ८ हजार ४ सय वर्ग किलोमिटर क्षेत्र भित्र रहेका बाघको संख्या, बासस्थानको अवस्था र आहार प्रणालीबारे विस्तृत अध्ययन तथा अनुगमन गरिनेछ। यसपटक तीन वटा ब्लकमा विभाजन गरेर गणना गरिँदैछ। यसअघि सन् २०२२ मा गरिएको गणनामा १ हजार ८ सय ४३ क्यामरा प्रयोग गरिएको थियो।

चालू गणना प्रक्रिया चैतसम्म सञ्चालन हुने जनाइएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयोजनमा राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ (WWF) र जेडएसएल (ZSL) लगायतका निकायको प्राविधिक तथा आर्थिक सहयोगमा गणना भइरहेको छ। देशभरबाट करिब २ सय ५० जना दक्ष जनशक्ति गणनामा खटाइएका छन्।

नेपालले सन् २००९ देखि स्वचालित क्यामरा ट्र्याप प्रविधि प्रयोग गरी बाघको संख्या यकिन गर्दै आएको छ। चालू गणनाको नतिजा सन् २०२६ जुलाई २९ मा पर्ने विश्व बाघ दिवस का दिन सार्वजनिक गरिनेछ। सन् २०२२ मा गरिएको पछिल्लो गणनामा नेपालमा ३ सय ५५ वटा पाटेबाघ पुष्टि भएका थिए।

विश्वव्यापी रूपमा पछिल्लो एक सय वर्षमा ९३ प्रतिशत बाघको बासस्थान र ९७ प्रतिशत संख्या घटेको अवस्थाबीच नेपालमा भने पछिल्लो १२ वर्षमा पाटेबाघको संख्या झन्डै तेब्बर वृद्धि हुनु संरक्षण प्रयासको उल्लेखनीय उपलब्धिका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 December 2025
Website | + posts