काठमाडौं, मंसिर २८ । अष्ट्रेलियाको लोकप्रिय पर्यटकीय क्षेत्र बोन्डी बीचमा गोली चलेको घटनामा धेरै मानिसको मृत्यु भएको पुष्टि गरिएको छ। न्यू साउथ वेल्स प्रहरीका अनुसार घटनामा ज्यान गुमाउनेहरूको संख्या भने हालसम्म सार्वजनिक गरिएको छैन।
बीबीसीका अनुसार प्रहरीले घटनासँग सम्बन्धित दुई जनालाई नियन्त्रणमा लिएको छ। साथै, घटनाका क्रममा दुई जना प्रहरी अधिकारी पनि घाइते भएका छन्। प्रहरीले सर्वसाधारणलाई सुरक्षा कारण देखाउँदै बोन्डी बीच तथा आसपासको क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ।
प्रहरीले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको सूचनामा बोन्डी बीचमा दुई जना प्रहरी हिरासतमा रहेको जनाउँदै हाल पनि अपरेसन जारी रहेको उल्लेख गरेको छ। साथै, सर्वसाधारणलाई प्रहरीको निर्देशन पालना गर्न, घेराबन्दी गरिएको क्षेत्र ननाघ्न र उक्त स्थानमा नजान अनुरोध गरिएको छ।
अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी) का अनुसार प्रहरीले ‘एक्टिभ शूटर’ सम्बन्धी सूचनाको आधारमा अनुसन्धान गरिरहेको छ। सेभेन न्यूजको रिपोर्टअनुसार स्थानीय बासिन्दाले गोली चलेको आवाज सुनेको र सयौँ मानिसहरू त्रासमा परेर भागिरहेको देखेको बताएका छन्।
Published Date: 14 December 2025