भक्तपुरमा पुष ३, ४ र ५ गते १३औँ घरेलु उत्पादन प्रवर्द्धन मेला आयोजना हुने

भक्तपुरमा पुष ३, ४ र ५ गते १३औँ घरेलु उत्पादन प्रवर्द्धन मेला आयोजना हुने : Icon Khabar

भक्तपुर, मंसिर २३ । भक्तपुर नगरपालिका–२ स्थित नःपुखु क्षेत्रमा आगामी पुष ३, ४ र ५ गते १३औँ घरेलु उत्पादन प्रवर्द्धन मेला–२०८२ आयोजना हुने भएको छ। “स्थानीय उत्पादनलाई प्रवर्द्धन गरौँ” भन्ने उद्देश्यका साथ हुन लागेको यो मेला भक्तपुर घरेलु तथा साना उद्योग संघले आयोजना गर्न लागेको हो भने उद्योग तथा बाणिज्य कार्यालय, भक्तपुर सह–आयोजकका रूपमा रहनेछ।

तीन दिनसम्म चल्ने मेलामा भक्तपुरका परम्परागत, साना उद्यम तथा स्थानीय स्रोतबाट उत्पादन भइरहेका वस्तुहरू प्रदर्शनी र बिक्रीका लागि प्रस्तुत गरिने छन्। मेला बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।

मेलामा जुजु धौदेखि भादगौँले टोपी, धरबुना कपडा, काष्ठकला, धातुकला, माटाका भाँडाकुँडा, कृषि उत्पादन, तोरीको तेल, नेपाली अचार, पाउँका विभिन्न प्रकार, नर्सरी सामग्री, हस्तकला तथा च्याउका परिकारसम्मका वस्तुहरू उपलब्ध रहनेछन्। भक्तपुरको सांस्कृतिक र उत्पादन पहिचान झल्काउने यी सामग्रीहरू मेलाको मुख्य आकर्षण मानिएका छन्।

घरेलु उत्पादनलाई बजारसम्म जोड्ने, स्थानीय उद्यमीलाई प्रोत्साहन गर्ने तथा संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले तयार गरिएको मेलामा नगरवासी तथा सर्वसाधारणलाई सहभागी हुन आयोजकले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 December 2025
Website | + posts